लाओसमा जलविद्युत् परियोजनाको बाँध भत्किँदा सयौँ बेपत्ता

maitrinews

लाओस । लाओसको दक्षिणी भेगमा एउटा निर्माणाधीन बाँध भत्किँदा कम्तीमा २० जनाको ज्यान जानुका साथै सयौँ मानिसहरु हराइरहेका बताइएको छ।
बाँधको पानी बगेर डुबानमा परेका गाउँका मानिसहरू घरका छतहरूमा चढेर उद्धारको प्रतीक्षा गरिरहेका भिडिओ र तस्बिरहरू प्रकाशित भएका छन्।
हालैको ठूलो वर्षाका कारण यो विपद्को घटना भएको हुनसक्ने बताइएको छ। लाओस सरकारले सहायताका लागि आह्वान गरेको छ।

अत्तापेउ प्रान्तस्थित एउटा जलविद्युत् परियोजनाका लागि निर्माणाधीन बाँध भत्किँदा अचानक आएको बाढीबाट नजिकैको छवटा गाउँहरु डुबानमा परेका लाओ समाचार एजेन्सीले जनाएको छ।

उक्त एजेन्सीका अनुसार छ हजार मानिसहरू घरबारविहीन हुन पुगेका छन्।

सरकारी टेलिभिजनमा प्रसारण गरिएको भिडिओ तथा तस्बिरहरूमा मानिसहरू आफ्नो घरको छानामा अलपत्र परिरहेको र उनीहरूलाई डुङ्गामार्फत् उद्धार गरिएको छ ।