पाकिस्तानमा इमरान खानको उदय

maitrinews

पाकिस्तान  ।  दशकौँ पुरानो र यथास्थितिवादी पार्टी पिएमएल–एन र उसको प्रतिद्वन्द्वी पिपिपीको निरन्तरतालाई क्रमभंग गर्दै दुई दशकअघि स्थापना भएको पिटिआई बहुमतनजिक

पूर्व क्रिकेट स्टार र ‘प्ले ब्वाय’ इमरान खानको अब अर्को नयाँ परिचय थपिँदै छ । पाकिस्तान तेहरिक–ई–इन्साफ (पिटिआई)का नेता खान अब देशका भावी प्रधानमन्त्री हुन् । हिंसाबीच बुधबार सम्पन्न निर्वाचनमा खानको पिटिआई पार्टीले अनपेक्षित सफलता हासिल गरेसँगै आणविक राष्ट्र पाकिस्तानमा खान प्रधानमन्त्री बन्ने पक्का भएको छ ।

खानको उदयसँगै पाकिस्तानको राजनीतिमा नयाँ हलचल उत्पन्न भएको छ । निर्वाचन अभियानमा खानले देशको शक्तिशाली सेनाको राम्रो ‘आशीर्वाद र समर्थन’ पाएका थिए । निर्वाचनमा सत्तासीन पाकिस्तान मुस्लिम लिग–नवाज र पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) क्रमशः दोस्रो र तेस्रो स्थान आउने निर्वाचन नतिजाले देखाएको छ । इमरान खानले आफ्नो दल आमनिर्वाचनमा विजयी भएको दाबी गरेका छन् । यद्यपि, निर्वाचनको औपचारिक घोषणा हुन भने बाँकी नै छ ।

वासिङ्टनस्थित वुड्रो विलसन सेन्टरका मिसेल कुगलम्यानका अनुसार खानको उदय एउटा ‘विश्वव्यापी प्रवृत्ति’ हो, जहाँ असन्तुष्ट, विद्रोही, अत्याधुनिक नेताहरूले पुनर्जागरणको फाइदा लिएका छन् । ‘उनी नयाँ, साहसी र स्वच्छ नेताको प्रतिनिधत्व गर्छन्, जसलाई पाकिस्तानले लामो समयदेखि पर्खिरहेको थियो,’ कुगलम्यान भन्छन् । राष्ट्रिय शक्तिमा पकड जमाउने अनुभवको अभाव र घमण्डी व्यक्तित्वका कारण प्रधानमन्त्रीका रूपमा उनको आगामी यात्रा त्यति सहज नभएको कुगलम्यानको भनाइ छ ।‘यसले पाकिस्तानी सेनालाई नै समस्यामा पार्न सक्छ,’ उनी भन्छन् ।

क्रिकेटर हुँदै समाजसेवा
इमरान खानको जन्म आजभन्दा ६५ वर्षअगाडि पाकिस्तानको लाहोर सहरमा एउटा धनाढ्य पास्तुन परिवारमा भएको थियो । लाहोरको एटचिसन कलेजमा अध्ययन गरेका खानले सन् १९७५ मा अक्सफोर्ड युनिभर्सिटीबाट दर्शनशास्त्र, राजनीति र अर्थशास्त्रमा स्नातक गरेका छन् ।

पाकिस्तानको राष्ट्रिय क्रिकेट टिमको क्याप्टेनका रूपमा खानको चर्चा सदाबहार छ । अस्टे«लियामा सन् १९९२ मा विश्वकप क्रिकेटमा उनको कप्तानीमा पाकिस्तान विजयी भएको थियो । १९ वर्षको छँदा इंग्ल्यान्डविरुद्धको टेस्टमा पाकिस्तानको टिमबाट उनले डेब्यु गरेका थिए ।

खेलबाट सन्न्यास लिएपछि खानले आफ्नो सम्पूर्ण जीवन परोपकार र सामाजिक कार्यमा बिताए । उनले आफ्नी आमाको सम्झनामा पाकिस्तानमा पहिलो दक्ष क्यान्सर केन्द्र स्थापना गरे । खानले पन्जाबको मियावालीमा कलेज स्थापना गरेका थिए ।

के छ इमरानको नीति ?
निर्वाचनअघिसम्म नयाँ पाकिस्तानको नारा लगाउँदै देशको शासन व्यवस्थामा सुधार गर्ने वाचासहित खानले भ्रष्टाचारविरुद्ध अभियान सुरु गरेका थिए । खानले पार्टीको घोषणापत्रमा पाँच वर्षभित्र एक करोडलाई नयाँ रोजगारी सिर्जना गर्ने र ५० लाख हाउजिङ युनिट निर्माण गर्ने वचन दिएका छन् । खानले राष्ट्रसंघको सुरक्षा परिषद्को संकल्प प्रस्तावबमोजिम भारतसँगको विवादास्पद कास्मिर समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

अफगानिस्तानमा अमेरिकी नीतिलाई लिएर पिटिआईले अमेरिकाको विरोध गरेको छ । उनले तालिवानसँगको शान्तिवार्तामा जोड दिँदै आएका छन् । तालिवानप्रति नरम भएका कारण उनलाई विरोधीहरूले तालिवान खानको संज्ञा दिएका छन् । उनी पाकिस्तानका सशस्त्र अतिवादी समूहसँग पनि नरम बनेका छन् । केही समूहले उनलाई निर्वाचनमा समर्थन जनाएका थिए । निर्वाचित भएसँगै खानले घरेलु र विदेशी नीतिसम्बन्धी चुनौती सामना गर्नुपर्ने विज्ञहरू बताउँछ ।

विज्ञहरूका अनुसार देशबाहिर भारत र अफगानिस्तानसँगको सम्बन्ध खानको मुख्य चुनौती हुनेछ । यसबाहेक अमेरिकासँगको सम्बन्धलाई पनि सुधार गर्नुपर्ने देखिन्छ । खानले लामो समयदेखि अमेरिकाको विरोध गर्दै आएका छन् ।

दुई दशकदेखि राजनीतिमा
भ्रष्टाचारको महामारीबाट चिन्तित बनेका खान सन् १९९६ मा पाकिस्तानको राजनीतिक भेलमा हाम फालेका थिए । सम्पूर्ण नागरिकलाई इन्साफ अर्थात् न्याय प्रदान गर्ने भन्दै उनले सोही वर्ष पाकिस्तान तेहरिक इन्साफ (पिटिआई)गठन गरे । एक वर्षपछि सम्पन्न निर्वाचनमा लज्जास्पद पराजय भयो । पिटिआईले नेसनल एसेम्बलीमा एक सिट पनि ल्याउन सकेन । युवा जोससँगै राजनीतिमा होमिएका उनी निर्वाचनमा पार्टीको प्रारम्भिक असफलताबाट हरेस खाएनन् ।

सन् २००२ को निर्वाचनमा पनि पिटिआईले एक सिटमै चित्त बुझाएको थियो । सन् २००२ देखि सन् २००७ सम्म उनले नेसनल एसेम्बलीमा पन्जाबको मियावाली क्षेत्रको प्रतिनिधित्व गरे । त्यसवेलासम्म राजनीतिज्ञको रूपमा सञ्चारमाध्यमले खासै चासो दिएका थिएनन् । तर, संसद् र सडकमा उनको प्रस्तुति बेजोड थियो । तत्कालीन राष्ट्रपति परबेज मुसर्रफले अमेरिकी राष्ट्रपतिको जुत्ता चाटेको अभिव्यक्ति दिएपछि उनी अमेरिकाविरोधीका रूपमा मात्र चिनिएनन्, घरमै नजरबन्दमा रहन बाध्य भए ।

सन् २००७ को नोभेम्बरमा सैनिक जनरल परबेज मुसर्रफले संकटकाल घोषणा गर्दा खानले मुसर्रफलाई मृत्युदण्ड दिनुपर्ने धारणा व्यक्त गरेर आफ्नो राजनीतिक जीवन जोखिममा पारेका थिए । तत्कालै पक्राउ भएका उनी केही महिनापछि रिहा भएका थिए ।

सन् २००८ को निर्वाचन बहिष्कार गरेका खानले त्यसपछि भ्रष्टाचारविरुद्धको सडक आन्दोलनलाई अस्वाभाविक रूपमा चर्काए । सरकारविरोधी प्रदर्शनलाई लिएर तत्कालीन असिफ अली जर्दारी सरकारले उनलाई घरमै नजरबन्दमा राखेको थियो । सन् २०११ मा उनको भ्रष्टाचारविरोधी आन्दोलनले पाकिस्तानमा दशौँ हजार मानिसलाई प्रभावित बनाएको थियो । सरकारविरुद्ध लाहोर र कराँचीमा भएका -यालीमा हजारौँले समर्थन गरेका थिए ।

सन् २०१३ को आमनिर्वाचनमा खैबर पाकटुंकवा प्रान्तमा विजयी भएपछि पिटिआईले पाँच वर्षसम्म सो प्रान्तमा सरकार गठन गरेको थियो । पाँच वर्षअघिको निर्वाचनमा पाक राजनीतिको प्रमुख खेलाडी भए पनि इमरानले आन्दोलनकारी राजनीतिज्ञको पहिचान बनाएका थिए । सो समयमा संसद्माथि अनादर गरेको उनीमाथि आरोप लागेको थियो । ‘इमरानले संसद्जस्तो निर्वाचित संस्थाको समेत अपमान गरे,’ कराँचीस्थित पत्रकार अमिर अहमेद खान भन्छन् ।

खान विगत दुई सातादेखि पाकिस्तानमा जेलजीवन बिताइरहेका नवाज सरिफका मुख्य आलोचक हुन् । निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै पाकिस्तान मुस्लिम लिग नवाज पार्टीका तर्फबाट सरकारको नेतृत्व गरेका प्रधानमन्त्री नवाज सरिफको राजीनामा माग गर्दै ६ महिनासम्म सडक प्रदर्शन गरेका थिए ।

पानामा पेपर्सको चुहावटमा सरिफको पनि नाम जोडिएपछि खानले त्यसलाई मुख्य मुद्दा बनाए । गत वर्ष सर्वोच्च अदालतले सरिफलाई भ्रष्टाचारी ठहर गर्दै १० वर्ष जेल सजायको फैसला सुनाउनु खानका लागि नैतिक विजय थियो ।

सरिफको पतन र खानको उदयको डिजाइन पाकिस्तानको सेनाले गरेको आरोप लागेको छ । तर, सेनालाई बदनाम बनाउने विदेशी षड्यन्त्र भएको खानले बताउँदै आएका छन् ।