पाकिस्तानले अधिकारीलाई देखाए विवादित स्थल

maitrinews

पाकिस्तान । भारतले गत फेब्रुअरीमा गरेको विवादित हवाई आक्रमणको घटनास्थल पाकिस्तानी अधिकारीले देखाएको छ । अधिकारीहरुले विदेशी सञ्चारमाध्यम र रक्षा सहचारीलाई बालाकोटस्थित इस्लामिक विद्यालय जान दिइएका थिए । जहाँ कश्मीर आक्रमणको प्रतिक्रियास्वरूप भारतले गरेको कारबाहीमा लडाकुहरू मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका थिए । उक्त विद्यालयको भवन सकुशल देखिएको थियो । पाकिस्तानी सेनाले यसलाई आतङ्कवादी शिविरका रूपमा प्रयोग गरिएको दाबी अस्वीकार गरेको छ । भारतीय आमनिर्वाचनको पूर्वसन्ध्यामा विद्यालयको अवलोकन गराइएको हो । बालाकोट घटनास्थललाई लिएर पाकिस्तान र भारत ’सूचनायुद्ध’ को अवस्थामा छन् । पाकिस्तानले फेब्रअरी २६ मा भारतीय बम खुला स्थानमा खसाइएको र त्यसबाट कसैलाई केही नभएको बताउँदै आएको छ । तर भारतले आक्रमणबाट जैश ए मोहम्मद समूहका लडाकु ठूलो सङ्ख्यामा मारिएका र उनीहरूको शिविर ध्वस्त भएको बताउने गरेको छ । घटनाको दुई साताअघि भारत प्रशासित कश्मीरमा ४० जना अर्धसैनिक जवानको ज्यान जानेगरी गराइएको हमलाको बदलास्वरूप आक्रमण गरेको भारतको भनाइ छ । हमला कश्मीरमा भारतीय फौजमाथि गराइएको केही दशकयताकै ठूलो हो । विदेशी पत्रकार र कूटनीतिज्ञलाई पाकिस्तानी सेनाले बालाकोट र खैबर पख्तुन्ख्वा प्रान्तको भ्रमण गराएको थियो ।