काठमाडौं ।   सरकारले नेपालमा हुने भनिएको  इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अर्वाडका लागि आर्थिक सहयोग  नगर्ने भएको छ ।

अर्वाडका विषयमा सरकारले सहयोग गर्नु नहुनेभन्दै विरोध हुनलागेसँगै सरकार अर्वाडका लागि आर्थिक सहयोग गर्ने निर्णयबाट पछि हटेको हो । यद्यपी सरकारी निकायबाट यस बिषयमा औपचारिक जानकारी भने आइसकेको छैन ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यसवर्षको आईफा अवार्ड नेपालमा नहुने बताएसँगै सरकार यसबाट पछाडी हटेको संकेत मिलेको हो ।

‘यो वर्ष नहुने नै भयो, अब एक–दुई वर्षपछि पूर्वाधारमा हामी सक्षम भयौं भने पुनः आयोजनाको सम्भावना रहन्छ’ जोशीको भनाई छ । अवार्डका लागि सरकारले झण्डै एक अर्व रुपैयाँ खर्च गर्न लागेको समाचार बाहिरएसँगै यस विषयमा टिक्का टिपप्णी सुरु भएको थियो ।

आइफा अवार्ड हुँदा नेपाल सरकारले पैसा दिने या नदिने भन्ने विषयमा पक्ष विपक्षमा बहस जारी रहेका बेला प्रधानमन्त्री तथा सत्तारुढ दलका अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले यस विषयमा चासो देखाउनुभएको थियो ।

ओली र प्रचण्डबीच बुधबार बिहान भएको छलफलमा सरकार यसबाट पछि हट्दा राम्रो हुने निष्कर्षमा पुगेको स्रोतको दावी छ । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षसहित महासचिव विष्णु पौडेल समेत सहभागी हुनुहुन्थ्यो ।

चलचित्रकर्मी,विभिन्न पार्टी, सत्तारुढ दलकै सांसद तथा संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको निर्देशनलाई समेत मध्यनजर गर्दै आइफाबाट सरकार पछि हट्नु नै बुद्धिमतापूर्ण हुने विषयमा दुई नेता सहमत हुनुभएको बताईन्छ ।

सरकारले आइफा अवार्डका लागि नगद ४४ करोड २५ लाख रुपैयाँ र आउने भारतीय कलाकारसहित करिब छ सय जनालाई आतेजाते प्लेनभाडा र होटलमा बसेको खर्च समेत गरेर एक अर्ब रुपैयाँ खर्चिने सामाचारहरु सार्वजनिक भएका थिए ।

यद्यपी यसबारे सरकारले निर्णय नगरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताउँदै आउनुभएको थियो । अवार्डका लागि पर्यटन बोर्ड र काठमाडौ महानगरपालिकामार्फत उक्त रकम खर्च गर्न लागिएको थियो ।

मङ्गलबार बसेको संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकले समेत सरकारको सहयोगमा आयोजना गर्न लागेको इन्डियन इन्टरनेशनल फिल्म एकेडेमी (आइफा) अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको थियो ।