अमेरिका बन्दुक आक्रमण: टेक्ससस्थित वालमार्ट स्टोरमा २० जनाको मृत्यु

टेक्सस ।  अमेरिकाको टेक्सस राज्यमा भएको बन्दुक आक्रमणमा परेर कम्तीमा २० जनाको मृत्यु भएको र २६ जना घाइते भएका बताइएको छ।

एल पासो सहरमा भएको उक्त घटना टेक्ससका लागि “इतिहासकै सबैभन्दा घातक दिनमध्येको एक रहेको” टेक्ससका गभर्नरले बताएका छन्।

घटना अमेरिका र मेक्सिकोको सीमाभन्दा केहीपर रहेको वालमार्ट स्टोरमा भएको हो ।

घटनामा संलग्न भएको भन्दै प्रहरीले एक २१ वर्षीय युवालाई हिरासतमा लिएको छ।

सन्दिग्ध व्यक्ति एल पासोभन्दा एक हजार ४६ किलोमिटर पूर्वमा पर्ने ड्यालस सहरका बासिन्दा भएको बताइएको छ।

अमेरिकी सञ्चारमाध्यमहरूले उनको नाम प्याट्रिक क्रुसिअस रहेको बताएका छन्।

घटनामा परेका पीडितहरूको नाम भने हालसम्म खुलाइएको छैन।