प्रधानमन्त्री रोजगार कार्यक्रमबारे नबुझेर पनि आलोचना हुने गरेको छ

Mohan Bastola

गोकर्ण विष्ट
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्र

गोकर्ण विष्टसँग मोहन बास्तोलाले गरेको कुराकानीः

तपाईँले सम्हालेको मन्त्रालयबाट भएको कामको परिणामबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

सबै भन्दा पहिलो र महत्वपूर्ण कुराले यसले हामीलाई समयमा काम गर्ने र समयसीमा भित्र काम गर्ने कुराप्रति जवाफदेही बनाउँछ । समयमै परिणाम दिने जनताका अपेक्षालाई पूरा गर्ने र काम सम्पादन गर्न सके नसकेको यथोचित मूल्याङ्कन गर्ने कुरालाई पनि यसले सहयोग गर्छ ।

यो मन्त्रालय सम्हालेको पनि १५–१६ महिना वितिसकेको छ । अनुभव कस्तो रह्यो ?

काम देखाउन र नेपाली जनतालाई त्यसको अनुभूति गराउन अवश्य पनि केही समय लाग्छ । यद्यपि हामीले केही युगान्तकारी कामको थालनी गरेका छौँ । श्रमिकहरुको जीवनका सुरक्षाको आदन–प्रदान गर्ने गरी योगदानमा अधारित सामाजिक सुरक्षा योजना सुरु गरेका छौँ । यसले लाखौ नेपाली श्रमिक र नेपाली परिवारमा परिवर्तन ल्याउने हामीले अपेक्षा गरेका छौँ । यसले विरामी पर्दा, दुर्घटना हुँदा उपचार हुने, श्रमिकको निधन हुँदा आश्रित परिवारले सुविधा पाउने जस्ता कुराको पनि हामीले प्रत्याभूत गरेका छौँ । अहिलेसम्म सरकारी कार्यालयमा जागिर खानेले मात्रै पेन्सन, भत्ता पाउने गरेका थिए । त्यो बाहेक निजी क्षेत्र वा अन्य ठाउँमा काम गर्ने श्रमिक त्यो सुविधाबाट बञ्चित रहँदै आएका थिए । हामीले कार्यक्रममा अब श्रमिकले पनि त्यो सुविधा प्राप्त गर्ने कुरालाई समावेश गरेका छौँ । यो यहि साउन महिनाबाट कार्यान्वयनमा ल्याउन हामीले भनेका छौँ । त्यो ऐतिहासिक कुरा हो भन्ने मलाई लागेको छ । यसलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भनेर हामी विभिन्न उपायहरुको खोजीमा लागेका छौँ ।

निश्चय पनि, यो भन्दा पहिला श्रमलाई प्राथमिकतामा राखिएको थिएन । सवल राष्ट्र निर्माणका लागि यो कुरा स्वाभाविक थिएन । नेपाली जनशक्तिले नेपालमा काम गर्न पाउनुपर्छ, त्यो अवसर पाउनुपर्छ । हामीले निरन्त यही कुरालाई जोड दियौँ । हामीले बारम्बार शिक्षित या अशिक्षित सबै नेपालीले स्वदेशमै रोजगारीको अवसर प्राप्त गर्नुपर्छ भनेर निरन्तर लागेकै कारण हामीले केही सफलता पनि प्राप्त गरेका छौँ । मैले अघि पनि भने, यसको परिणाम प्राप्त गर्न अझै केही समय त निश्चय पनि लाग्छ नै । म मन्त्री भएर आएपछि सबै भन्दा बढी जोड दिएको विषय पनि यही हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका बारेमा केही बताईदिनुहोस् न ?

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगर हामीले जो नेपाली नागरिक काम गर्न चाहेर पनि रोजागारी पाइरहेको छैन । अर्थात न ऊ बैदेशिक रोजगारीमा जान सक्छ नत स्वदेशमै आफै उद्यम गर्ने वा केही काम गर्ने अवसर उसले पाएको छ । यस्तो अवस्थाका नागरिकलाई पनि हामीले रोजगारीको अवसर प्रदान गर्नका लागि भनेर प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएका हौँ । गरिबी र अभावमा पिल्सिएको ठूलो सङ्ख्या यहाँ रहेको छ । त्यो सङ्ख्यालाई पनि हामीले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारीको अवसर प्रदान गर्ने कार्यक्रम ल्याएका छौँ । यो कार्यक्रमले जो विदेश जान सक्दैन, जो आफ्नो उद्यम गर्न सक्दैन । जो अन्त कतै रोजगारी पनि गर्न सकेको छैन । त्यस्तालाई उसको आफ्नै ठाउँमा रोजगारीको अवसर सिर्जना गराएर काम गर्ने वातावरण हामीले निर्माण गर्ने प्रयास गरेका छौँ । यो सरकारको अर्को ठूलो सफलता हो भन्ने मैले ठानेको छु । यो कार्यक्रमले काम गरेर बाँच्ने आधार तयार भएको छ भन्ने लागेको छ ।

यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम कत्तिको उपलब्धीमुलक रह्यो भन्ने लागेको छ ?

हो, यो वर्ष छोटो अवधीका लागि मात्रै भए पनि दुई लाख बढीले यो रोजगारीको अवसर प्राप्त गरेका छन् । हामीले विश्वका अरु मुलुककै उदाहरण हेर्न हो भने पनि वेरोजगारहरुलाई वेरोजगार भत्ता दिएका निकै धेरै उदाहरण छन् । ती देशहरुमा काम गर्ने उमेर समूहका नागरिकले काम पाएनन् भने राज्यले बेरोजगार भत्ता दिने गरेको छ । हामीले चाँहि बेरोजगार भत्ता भन्दा पनि काम गरेर बाँच्ने आधार तयार पार्ने कामतर्फ बढि ध्यान केन्द्रित गरेका छौँ । यसले कम्तीमा नागरिकलाई कामप्रति सम्मान जगाएको छ । त्योसँगै काम गरेर बाँच्न पाउनुपर्छ भन्ने जागरण पनि पैदा गरेको छ । हरेक व्यक्तिले काम गर्यो भने सरकारले बाँच्ने आधार दिन्छ है भने आधार पनि सरकारले खडा गरेको छ । गरिब र निमूखा जनताप्रति सरकार गम्भीर छ र जिम्मेवार पनि छ भन्ने यो एउटा उदाहरण पनि हो । यो सबै नेपालीले गौरव गर्ने कुरा पनि हो ।

नेपालमा रहेको समग्र वेरोजगारीको समस्या समाधानमा सरकारको पहल कस्तो भैरहेको छ ?

नेपालमा रहेको समग्र वेरोजगारीलाई समाधान गर्ने सन्दर्भमा पनि हामीले केही पहल अघि बढाएका छौँ । त्यसका लागि रोजगार नीतिलाई परिमार्जन गर्ने, रोजजगारीका अवसर सिर्जना गर्नेलगायतका कुरालाई पनि ध्यानमा राखेर हामी अहिले अघि बढेका छौँ । यसले केही रोजगारीका अवसर देखा पर्छन भन्ने हामीले ठानेका छौँ । श्रमिकहरुले काम गर्ने तर न्युनतम पारिश्रमिक नपाउने अवस्थाको पनि हामी अन्त्य गर्ने गरी लागेका छौँ । अहिले पनि महिला र पुरुषको आधारमा विभेद हुने गरेको छ । हामी त्यस्तो विभेदको पनि अन्त्य गर्ने गरी लागेका छौँ । श्रममा विभेद हुनुहुदैँन भन्ने प्रष्ट मान्यताका साथ हामी लागेका छौँ । त्यसकारण पनि आगामी दिनमा त्यस्ता कुराको समेत अन्त्य भएर जाने हामीले विश्वास लिएका छौँ । कानुनमा उल्लेख गरिएको न्युनतम वेतन, सेवा–सुविधा श्रमजिवीले पाउनुपर्छ भन्ने मान्यताका साथ न्युनतम वेतन वा श्रमिकले पाउने पारिश्रमिकलाई बैँक खाताबाट उपलब्ध गराउने कुराको सुरुवाती गरेका छौँ । यो पनि सकारात्मक कदम हो भन्ने लागेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको दुरुपयोग भयो भन्ने पनि आरोप छ नि, कतै बाँदर धपाउन त कतै झार उखेलेर प्रधानमन्त्री रोजगार कार्यक्रमको पैसा सक्ने काम भयो भन्ने पनि छ । यसलाई चाँहि के भन्नुहुन्छ ?

कतै नबुझेर पनि आलोचना भएको हुन सक्छ भने कतै हतारमा काम गर्ने सन्दर्भमा स्थानीय तहको पनि केही सामान्य कमजोरीले पनि भएको हुनसक्छ । हामी यस्ता कुरामा सजक छौँ । आगामी दिनमा भएका कमजोरीलाई समेत सुधार गर्दै अझ व्यवस्थित ढंगले अघि बढ्ने छौँ । झण्डै आठ हजार आयोजनाका काम गर्दा केहीमा देखिएका कमजोरीलाई नै आधार बनाएर गरिने आरोप सबै सत्य नहुन पनि सक्छन् । कतिपय अवस्थामा त श्रम भन्ने के–हो भन्ने नबुझेर पनि यस्ता प्रतिक्रिया आएका छन् । श्रम विभिन्न प्रकारका हुन्छन् । कतै बौद्धिक श्रम, कतै शारीरिक श्रम यस्ता कुरालाई पनि ख्याल गर्नुपर्छ भन्ने लाग्छ । त्यसैलाई आधार मानेर समग्र प्रधानमन्त्री रोजगार कार्यक्रमलाई नै आरोप लगाउने कुरा पनि उचित होइन ।

युवालाई स्वदेशमै रोक्न उपाय पनि त खोज्नु पर्ला नि ?

हो, अहिले पनि वर्षेनी लाखौँको सङ्ख्यामा वैदेशिक रोजगारीका लागि युवा विदेश जाने गरेका छन् । त्यो राज्यका लागि पनि त्यति राम्रो कुरा होइन । हामी त्यसका लागि पनि योजनाबद्ध ढंगले लागेका छौँ ।