टर्कीद्वारा अमोरिकाको युद्धविराम प्रस्ताव अस्वीकार
टर्की । टर्कीका राष्ट्रपति रिसिप तैयप एर्दोगानले उत्तरी सिरियामा युद्धविरामका लागि अमेरिकाले गरेको आग्रहलाई अस्वीकार गरिदिएका छन्।
अमेरिकी उपराष्ट्रपति माइक पेन्स र विदेशमन्त्री माइक पोम्पेओले युद्ध रोक्ने प्रयास गर्न भन्दै टर्की जाने तयारी गरिरहँदा एर्दोगानको भनाइ आएको हो। एर्दोगनले यस विषयमा रुससँग समेत कुरा गरेका छन्। क्रेम्लिनले सिरियाली सेनामाथि आक्रमण हुन नदिने बताएको छ।
सिरियाका लागि मस्कोका विशेषदूत अलेक्जान्डर लभ्रेन्तेभले सैन्य आक्रमण अस्वीकार्य भएको बताएका छन्।
सिरियाली नेता बसर अल असदको रुस मुख्य सैन्य साझेदार हो। सन् २०१५ यता सिरियामा रुसी सेना परिचालित छ।
रुसी रक्षा मन्त्रालयका अनुसार उसका सेनाहरूले सिरिया र टर्कीका सेनाको जम्काभेट हुन सक्ने ठाउँमा गस्ती गरिरहेको छ।
युद्ध रोक्ने उपायबारे छलफल गर्न अङ्करासँग आफू सम्पर्कमा रहेको मस्कोले जनाएको छ।
गत साता उक्त क्षेत्रबाट अमेरिकी सेना फिर्ता लैजानले निर्णयले टर्कीलाई उत्तरी सिरियामा आक्रमण गर्ने बाटो खोलिदिएको बताइन्छ।
तर मङ्गलवार अबेर पेन्टागनले आफ्ना लडाकु विमान र हेलिकप्टर त्यसतर्फ पठाएको बताइएको छ।