ह्यारी र मेगनको शाही उपाधि र उत्तरदायित्व समाप्त

maitrinews

 

लण्डन । बकिङ्घम दरबारले राजकुमार ह्यारी र मेगनले अब शाही उपाधि प्रयोग नगर्ने र उनीहरूले नागरिकको करबाट आउने रकम समेत नपाउने घोषणा गरेको छ।
अब ह्यारी र मेगनले औपचारिक रूपमा महारानीको प्रतिनिधित्व पनि गर्ने छैनन्।

ब्रिटिश राजपरिवारका शाही उपाधिप्राप्त सदस्यहरूलाई रोयल हाइनेस भन्ने चलन छ।

दरबारद्वारा जारी वक्तव्यका अनुसार ड्यूक र डचिस अफ ससिक्स अब राजपरिवारका औपचारिक सदस्य नरहने र उनीहरूले शाही उपाधि प्रयोग गर्ने छैनन्।

हालै ह्यारी र मेगनले आफूले राजपरिवारको वरिष्ठ सदस्यको भूमिका परित्याग गर्ने र आफ्नो समय यूके तथा उत्तर अमेरिकामा बिताउने घोषणा गर्नुभएको थियो ।
राजपरिवारको एउटा छलफलपछि ब्रिटेनकी महारानी एलिजाबेथले मञ्जुरी दिनुभएको छ ।
नयाँ व्यवस्था यसै वर्षको वसन्त ऋतुदेखि लागु हुने दरबारले जनाएको छ।