जनताको साथ र सरकारको उचित व्यवस्थापनमा काठमाडौंमा १४ दिने स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्छ

Mohan Bastola

डाक्टर अजयक्रान्ति शाक्य
सांसद, वागमती प्रदेश

काठमाडौँ उपत्यकामा अहिले निषेधाज्ञा जारी छ । दुइहप्ते निषेधाज्ञा जारी रहेकै बेला निषेधाज्ञा थप गर्ने कि हटाउने भन्ने निर्णय हुने तयारीमा छ । यहि अवधिमा दिनप्रतिदिन उपत्यकामा कारोना संक्रमण बढ्दो गतिमा छ । यसले थप भयावह हुने हो कि भन्ने आशंका आम उपत्यकावासीमा छ । अझ जनघनत्व बढी भएको उपत्यकामा कोरोना संक्रमण समूदायस्तरमै पुग्यो भने ठूलो क्षति व्यहोर्नुपर्ने हो कि भन्ने चिन्ताले पनि उपत्यकावासी थप चिन्तित बनेका छन् ।
यस्तो अवस्थामा विज्ञहरुले कोरोना संक्रमणबाट बच्न कोरोना संक्रमणको विस्तारलाई रोक्नु पर्ने, संक्रमणको व्यवस्थापन गर्नुपर्ने र नागरिक तहबाट पनि त्यत्तिकै जिम्मेवार हुनुपर्ने आवश्यकता औल्याउँदै आएका छन् । त्यति मात्र होइन विज्ञहरुले टेष्टको दायरा बढाउनु पर्ने समाजिक दूरी कायम गर्नुपर्ने र मास्कको उचित प्रयोग गर्नुपर्ने जस्ता सल्लाह पनि दिदैँ आएका छन् ।
अहिले कोरोना संक्रमणलाई नियन्त्रण गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीयत तहले आफ्नो बलबुताले भ्यायसम्म प्रयास गरिरहेका छन् । यहि विषयसँग केन्द्रित भएर काठमाडौँ क्षेत्र नम्बर–९ बाट विजयी वागमती प्रदेशका सांसद डाक्टर अजयक्रान्ति शाक्यसँग गरिएको कुराकानीः

अहिले विश्व नै कोरोनाको कहरबाट आक्रान्त बनेको छ । यस्तो बेलामा यसको नियन्त्रणका लागि विभिन्न प्रयास भैरहेका छन् । नेपालले पनि विभिन्न प्रयास जारी राखेको छ । तर, प्रयासका गर्दागर्दै पनि अहिले उपत्यका लगायतका स्थानमा कोरोना संक्रमणको दर बढ्दै गएको छ । यसलाई कसरी लिनुभएको छ ?

सबै भन्दा पहिला त कुनै पनि रोग लाग्नु भन्दा रोग लाग्नै नदिनु राम्रो हो । अहिले कोरोना संक्रमणको उपत्यकालगायतका स्थानमा बढ्दो क्रममा छ । यो निश्चय पनि सकारात्मक होइन । कोरोना संक्रमण हुनबाट समुदायलाई जोगाउन हामीले सबै भन्दा बढी ध्यान दिने भनेको कन्टयाक टे«सिङलाई सुक्ष्म रुपमा लैजाने हो । यसो भनेको एक व्यक्तिलाई संक्रमण भएको जानकारी हुनासाथ त्यो व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिहरुको सुक्ष्म रुपमा अध्ययन गरेर सबैलाई सम्पर्क गर्ने, उनीहरुलाई क्वारिन्टीनमा राख्ने र उनीहरुको पनि स्वास्थ्य परीक्षण गर्ने र रिपोर्ट के आउँछ त्यो बमोजिम व्यवस्थापन गर्ने हो । हामीले त्यसो गर्न सकेको अवस्थामा कोरोना संक्रमणको चक्रलाई तोड्न सकिन्छ । यस्तो कुरामा हामीले पटक्कै हेलचक्रयाईं भने गर्नु हुंदैन । यस कार्यका लागि आवश्यक मात्रामा प्रत्येक स्थानीय तहले स्वयसेवक दस्ता बनाएर अघि बढ्नुपर्छ । त्यसका लागि स्थानीय समुदायका व्यक्ति, संघ–संस्था, अवकासप्राप्त शिक्षक, अवकास प्राप्त सुरक्षाकर्मीलगायतलाई पनि परिचालित गर्न सकिन्छ । यो महामारी हो । यस्तो बेलामा संघ, प्रदेश वा स्थानीय सरकार एक्लैको प्रयासले केही पनि हुँदैन । सबैले मिलेर यो अभियानमा लाग्यो भने मात्रा सफल हुन्छ । अनि मात्र सहि कन्टयाक टे«सिङ हुन्छ र संक्रमण पनि समुदायमा फैलिने अवसर प्राप्त गर्दैन ।

आइसोलेसन र क्वारेन्टीनका सन्दर्भमा पनि विभिन्न खाले आलोचना हुने गरेका छन् । त्यहिबाट कोरोना संक्रमण बढ्यो भन्ने पनि आरोप छ । यो विषयमा के भन्नुहुन्छ ?

आइसोलेसन र क्वारेन्टीन निर्माण गर्दा सबै भन्दा पहिला स्वास्थ्य मापदण्डलाई ख्याल गर्नुपर्ने हुन्छ । होडबाजीका लागि र सस्तो लोकप्रियताका नाममा जथाभावी आइसोलेसन र क्वारेन्टीन निर्माण गर्दै जाँदा त्यसले झन खतरा निम्त्याउने डर हुन्छ । आइसोलेसन र क्वारेन्टीन राख्दा पनि नेपाल सरकार स्वास्थ मन्त्रालयले बनाएको कार्यविधि, मापदण्ड अलिकति पनि तलमाथि नहुने गरी सवै पालना गर्नुपर्छ । जसले गर्दा क्वारेन्टीन भित्रै रहेकाहरुमा पनि संक्रमण फैलिन पाउँदैन । अर्को कुरा पीसीआर परिक्षण सकेपछि रिपोर्ट नआएसम्म क्वारिन्टीनमा अनिवार्य रुपमा बस्नु पर्छ । पीसीआर टेष्ट गरेको व्यक्तिले मलाई पोजेटिभ छ भन्ने सोचेर सजग हुनुपर्छ । पीसीआर टेष्ट गर्ने अनि रिपोर्ट आउनु अघि नै जथाभावी गर्ने हो र लापर्वाही गर्ने हो भने त्यसले पनि कोरोना संक्रमण फैलाउनका लागि सहयोग गरिरहेको हुन्छ । हामी सबैले यो कुरामा पनि ख्याल गर्नुपर्छ । ।

आइसोलेसन र क्वारेन्टीन निर्माण गर्दा सबै भन्दा पहिला स्वास्थ्य मापदण्डलाई ख्याल गर्नुपर्ने हुन्छ । होडबाजीका लागि र सस्तो लोकप्रियताका नाममा जथाभावी आइसोलेसन र क्वारेन्टीन निर्माण गर्दै जाँदा त्यसले झन खतरा निम्त्याउने डर हुन्छ । आइसोलेसन र क्वारेन्टीन राख्दा पनि नेपाल सरकार स्वास्थ मन्त्रालयले बनाएको कार्यविधि, मापदण्ड अलिकति पनि तलमाथि नहुने गरी सवै पालना गर्नुपर्छ । 

अहिले जन–चेतनाको अभावले पनि कोरोना संक्रमण फैलियो भन्ने छ नि ?

हो, सबै भन्दा ठूलो कुरा भनेको जनचेतना फैलाउने कुरा हो । जनचेतना अभिबृद्धि गर्न सवै खालका सूचनाहरुलाई टोल टोलमा माईकिङ्ग गर्ने मात्र होइन स्थानीय सरकारले स्थानी समुदायलाई नै परिचालन गरेर अघि बढ्नुपर्छ । जनचेतना अभिबृद्धि गर्न स्वयंसेवकहरु समेतलाई प्रशिक्षण दिएर मसिनो ढङ्गले परिचालित गर्नुपर्छ ।
कोभिडको सक्रमण फैलिन नदिन विभिन्न सूचनाहरु मात्र होइन कोभिड भएकाहरुलाई समेत प्रोत्साहित गर्ने खालका सामाजिक चेतनामूलक सूचनाहरु व्यापक रुपमा प्रचार गर्नुपर्छ । स्थानीय समुदायहरुलाई जबसम्म यी सवै गतिविधिहरुमा सहभागी गराइदैन संक्रमण नियन्त्रण गर्न मुस्किल हुन्छ । संक्रमण बढ्यो निषेधाज्ञा जारी गर्ने कम हुँदै गयो फेरि जारी गर्ने कुरा असम्भव मात्रै होइन राम्रो व्यवस्थापन गर्न नसक्ने हो भने त्यसले अर्थतन्त्रमा पनि निकै ठूलो नकरात्मक असर देखापर्छ । केही समय नियन्त्रणमा आए जस्तो देखिए पनि फेरि संक्रमण दोहोरिने खतरा बढी हुन्छ ।

त्यसैले मैले माथि पनि उल्लेख गरेँ । कन्टयाक टे«सिङ नै सबै भन्दा भरपर्दो र प्रभावकारी उपाय हो । त्योसँगै सामाजिक दूरी कायम गर्ने, मास्कको उचित प्रयोग गर्ने, साबुन–पानीले हात धुने वा सेनेटाइजर प्रयोग गर्ने कुरामा पनि ध्यान दिन उत्तिकै जरुरी छ ।

स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्छ भन्ने कुरा पनि आएको छ । यो विषयमा के भन्नुहुन्छ ?

अहिलेको अवस्था हेर्ने हो भने संक्रमण फैलिएको स्थान र क्षेत्रलाई हेरेर स्वास्थ्य संकटकाल घोषणा गर्नु उपयुक्त देखिन्छ । यसमा नागरिक तहबाट पनि सहयोगको आवश्यक छ । १४ दिन देखि २१ दिनसम्मको स्वास्थ्य संकटकाल घोषणा गरी सैनिक परिचालन गर्ने हो भने अनावश्यक रुपमा हुने ‘पव्लिक मोविलिटी’ पूर्ण रुपमा नियन्त्रण गर्न सकिन्छ । संकटकाल घोषणा गर्नु दुई तीन दिन अघि नै सार्वजनिक सूचना व्यापक मात्रामा दिएर जनता घर भित्रै १४ दिन बस्नका लागि चाहिने आवश्यक बस्तुहरु व्यवस्थापन गर्न लगानउनु पर्छ ।

संकटकालको समय अहिलेको लकडाउन जस्तो खुकुलो हुनु हुंदैन । अति आवश्यक बाहेक पूर्ण रुपमा निषेधाज्ञा पालना गर्न लगाउनु पर्छ । यो कठिन अवस्थालाई युद्धको अवस्था सम्झेर सरकारले दिएको आदेशहरु जनताले आफ्नो कर्तव्य ठानी पूर्ण पालना गर्नुपर्छ ।

तर, यस्तो संकटकालले कमाई खाने वर्गका लागि त समस्या होला नि ?

यस्तो बेलामा दिनदिनै कमाएर खानु पर्ने समाजका अति न्यूनवर्गलाई १४ दिन घरभित्रै बस्ने बातावरण बनाउन स्थानीयलाई स्थानीय सरकारले १४ दिनका लागि आवश्यक सामाग्री राहत स्वरुप उपलब्ध गराउनुपर्छ । अन्य दिन दिनै कमाएर दिन दिनै खान पर्नेका लागि संघीय र प्रदेश सरकारले उक्त अवधिका लागि राहतको व्यवस्था गर्नुपर्छ । राहत दिएर तुरुन्तै सकंटकाल लागु गर्यो भने कोरोनाको १४ दिनको सामाजिक जीवन समाप्त हुन्छ । यसरी संकटकाल लागु गरेको क्षेत्रहरुमा कोभिड १९ को भाईरस न्यून हुन जान्छ । समुदायमा संक्रमण फैलिन पाउँदैन ।

१४ दिनदेखि २१ दिनसम्मको संकटालपछि केही खुकुलो लकडाउन गर्नुपर्ने हुनसक्छ । त्यस्तो बेलामा दुई चार घण्टा सवै मापदण्ड पालना गर्न लगाएर अत्यावश्यक कार्यहरुको लागि खुकुलो गर्नुपर्छ । त्यो अवधिमा पनि स्वयं सेवक तथा समुदायका व्यक्तिहरुले चनाखो भई संक्रमण अवस्थालाई ध्यान दिएर निगरानी बढाउनुपर्छ । स्थिति विस्तारै सामान्य गर्ने तर्फ गएपछि सहज रुपमा अघि बढ्न सकिन्छ ।

१४ दिनदेखि २१ दिनसम्मको संकटालपछि केही खुकुलो लकडाउन गर्नुपर्ने हुनसक्छ । त्यस्तो बेलामा दुई चार घण्टा सवै मापदण्ड पालना गर्न लगाएर अत्यावश्यक कार्यहरुको लागि खुकुलो गर्नुपर्छ । त्यो अवधिमा पनि स्वयं सेवक तथा समुदायका व्यक्तिहरुले चनाखो भई संक्रमण अवस्थालाई ध्यान दिएर निगरानी बढाउनुपर्छ । स्थिति विस्तारै सामान्य गर्ने तर्फ गएपछि सहज रुपमा अघि बढ्न सकिन्छ ।

उपत्यकाकै सन्दर्भमा चाँहि के भन्नुहुन्छ ?

उपत्यका जनघनत्व बढी भएको स्थान हो । त्यसैले यहाँ संक्रमणबाट बचाउनका लागि काठमाडौं उपत्यका छिर्ने नाकाहरुमा अत्यावश्यक बाहेक पीसीआर रिपोर्ट बाहेकलाई केही समय प्रवेशमा रोक लगाउनुपर्छ । अन्तराष्ट्रिय विमानस्थलबाट आउनेहरुलाई पनि अनिवार्यरुपमा पीसीआर रिपोर्टपछि मात्रै आगमनमा छुट दिनुपर्छ । यति गर्न सक्यौं भने संक्रमणबाट हामी जोगिन सक्छौ र कोरोनासँगको युद्ध हामीले अवश्य जित्न सक्छौं ।

अहिले उपचारको अभावमा पनि संक्रमितहरुको ज्यान गएका समाचार सुनिने गरेका छन् नि ?

जुन ठाउँमा स्वास्थ्य संकटकालको घोषण भएको छ । ती–ती स्थानमा संक्रमण भएका व्यक्तिहरुलाई आइसोलेसनमा राख्ने र नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले बनाएको आइसोलेसनको मापदण्ड बमोजिम संक्रमित व्यक्तिलाई उपचार गर्नुपर्छ । लक्षण देखापर्न बाँकी रहेका, सामान्य लक्षण देखा परेका विरामीलाई आइसोलेसन वा होम आईसोलेसनमा राख्नुपर्छ । निकै संक्रमित भएकालाई भने अस्पताल नै लगि डाक्टरको सल्लाह बमोजिम उपचार गरिहाल्नु पर्दछ । त्यति मात्रै होइन पछि संक्रमण बढेमा स्थीति भयावह हुने कुरालाई ध्यान दिएर अहिले नै अस्पतालहरुमा चाहिने पर्याप्त मात्रामा आईसियूको व्यवस्थापन, भेन्टिलेटर र औषधिको व्यवस्थापन गर्नुपर्छ ।
कोरोनाकै लागि भनेर औषधि तथा भ्याक्सिनहरु नआइसकेको यो अवस्थामा त्यसको विकल्पमा निमुनियाकाको औषधि लगायत अन्य एन्टी भाईरल औषधि पनि प्रचलनमा आइरहेको हुनाले सो औषधिहरु उपलब्ध सहज गर्नका लागि पनि आवश्यक व्यवस्थापन गर्न आवश्यक छ ।

अहिले स्थानीय तहलाई मात्र क्रियाशील गराउने नीतिलाई संसोेधन गरी संघीय सांसद, प्रदेश सांसद र अन्य राष्ट्र सेवकहरुलाई पनि कोरोना विरुद्धको लडाईंमा पूर्ण एवं क्रियाशीलरुपमा सहभागिता गराउने नीति सरकारले ल्याउनुपर्छ । यसरी रोकथाम, नियन्त्रण र उपचार यी तीन विषयहरुमा ध्यान केन्द्रित गरी उचित व्यवस्थापन गर्ने कुरामा समयमै ध्यान गयो भने मात्रै कोरोना विरुद्धको लडाईमा विजय प्राप्त गर्न सकिन्छ ।