साहित्यतर्फको नोबेल अमेरिकी कवयित्री ग्लुकलाई
काठमाडौँ । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवयित्री लुइज ग्लुकलाई प्रदान गरिने भएको छ।
उहाँलाई सुन्दर काव्यात्मक आवाजका लागि पुरस्कार प्रदान गर्ने निर्णय भएको स्विडिस एकेडमीले जनाएको छ ।
गत वर्ष पोलिस लेखक ओल्गा तोकाचुक र अस्ट्रियाका नाटककार पिटर हान्क दुवै जनालाई साहित्यतर्फको नोबल पुरस्कार प्रदान गरिएको थियो।
ग्लुकका कवितामा मानव हुनुको पीडादायक यथार्थको चित्रण गरिएको छ। उहाँ मृत्यु, बाल्यकाल र पारिवारिक जीवनलाई काव्यिक शैलीमा प्रस्तुत गर्न सिपालु हुनुहुन्छ ।
उहाँले सन् १९९३ मा द वाईल्ड आइरिसका लागि पुलिट्जर पुरस्कार र सन् २०१४ मा नेशनल बुक अवार्ड पाउनु भएको थियो ।
ग्लुकले ब्रह्माण्ड खोज्नुहुन्छ अनि त्यसका लागि मिथक र शास्त्रीय भावबाट उत्प्रेरित हुनुहुन्छ ।