मुख्यमन्त्रीमा पोखरेल पुनः नियुक्त
काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेको प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो ।
‘आज मिति २०७८ वैशाख १९ का दिन माननीय प्रदेश प्रमुख श्री धर्मनाथ यादवज्यूले नेपाल कम्युनिष्ट पार्टी ९एमाले०, लुम्बिनी प्रदेश संसदीय दलका नेता माननीय श्री शंकर पोखरेलज्यूलाई नेपालको संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ,’ प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा छ, ‘यस अघि नेपाल कम्युनिष्ट पार्टी ९एमाले०, लुम्विनी प्रदेश संसदीय दलका नेता माननीय श्री शंकर पोखरेलज्यूले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा ९१० बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित माननीय प्रदेश प्रमुखज्यू समक्ष दावी पेश गर्नुभएको थियो ।’
पोखरेलले आइतबार नै मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । वैशाख ६ मा पोखरेलविरुद्ध कांग्रेस–माओवादीसहितका दलले अविश्वास प्रस्ताव ल्याएका थिए । मुख्यमन्त्री पोखरेललाई विश्वासको मत जित्न ४१ सांसद आवश्यक पर्छन् । एमालेको कुल सांसद संख्या पनि ४१ नै हो ।