हिम पहिरोमा बेपत्ता भएका २ जना अझै भेटिएन, तीन जनाकाे शव आफन्तकाे जिम्मामा
काठमाडौं, २३ वैशाख । मंगलबार दार्चुलाकाे ब्यास गाउँपालिका–१ भोलुङमा हिम पहिरोमा बेपत्ता भएका २ जना अझै फेला परेका छैनन् ।
यार्चागुम्बा खाेज्न जाँदा हिम पहिरोमा हराएका ५ जना मध्ये ३ जनाको शव फेला परे पनि २ जना अझैसम्म फेला नपरेकाे हाे ।
दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार खाेजीकार्य जारी रहेकाे तर फेला नपरेकाे जनाइन् ।
बुधबार फेला परेका तीन जनाको शव भने ब्यास गाउँपालिका–१ छाङरुबाट बिहीबार भारतीय बाटो हुँदै शुक्रबार सदरमुकाम खलङ्गा ल्याइपुर्याएका थिए ।
मृतक दार्चुलाको दुहुँ गाउँपालिका–४ की ३८ वर्षीया कमला कुँवर, उनका १८ वर्षीय छोरा प्रवीण कुँवर र डोटीको जोरायल गाउँपालिका–२ बुडरकी ४५ वर्षीया नक्नी डोमा थापाको शव आफन्तले जिम्मा लिएका छन् ।
हिमपहिराेमा हराएका डोटीको जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा अझै भेटिएकाे छैन ।
प्रजिअ जाेशीका अनुसार बेपत्ताहरूको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टाेलीले खाेजी जारी राखेका छन् ।
