पार्टीको वैचारिक र सङ्गठनात्मक कामलाई अघि बढाउँछु : अध्यक्ष ओली

काठमाडाैं, ९ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको वैचारिक र सङ्गठनात्मक कामलाई अघि बढाउँने बताउनुभएकाे छ ।
प्यूठान–काठमाडौँ सम्पर्क मञ्चले आज आयोजना गरेको कार्यक्रममा उहाँले पार्टीलाई सङ्गठनात्मकरूपमा एकताबद्ध बनाएर अगाडि बढाइने बताउनुभएकाे हाे । नेता ओलीले पार्टीका वास्तविक नीतिलाई कार्यकर्ता र जनतासमक्ष लैजाने दृढता पनि व्यक्त गर्नुभयो ।
पार्टी, जनवर्गीय सङ्गठन र तिनका सबै तहलाई चुस्त, दुरुस्त बनाउने उहाँको भनाइ छ । “पाटी कमिटी ठूला भद्दा छन् । ती काम गर्न नसक्ने छन् । ती नाममात्रका कमिटी नेताको काम आसनग्रहण गर्ने मात्र होइन । नेताको काम कार्यकर्ता र जनताकोमा जाने र उनीहरूलाई सक्रिय बनाएर पार्टी नीतिअन्तर्गत सङ्गठन विस्तार गर्ने हो”, उहाँले भन्नुभयो ।
पूर्वप्रधानमन्त्री ओलीले पार्टीका कमिटी ठूला भएकाले सङ्ठनात्मक र आन्दोलनका काम हुन नसकेको भन्दै आसनग्रहण गराउने मात्र काम भएको बताउनुभयो । उहाँले पार्टी एकढिक्का भएर जनतासमक्ष जाने विश्वास व्यक्त गर्नुभयो ।
एमालेको मात्र राष्ट्रिय स्वार्ध रहेकाले सरकार सञ्चालनको हैसियत प्राप्त गरेको उहाँको दाबी थियो । “दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थ, जनताको हित, राष्ट्रको हित विकासका आकाङ्क्षा, जनताका समस्याको सम्बोधनलाई केन्द्रविन्दुमा राखेर एमालेले सोचिरहेको छ । सत्ता स्वार्थमा राखेर होइन”, उहाँले भन्नुभयो ।
कार्यक्रममा सांसद सूर्य थापाले मुलुकलाई स्थिरता दिने पार्टी एमालेमात्र भएको दाबी गर्नुभयो ।