नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक एक आपसमा गाँभिने

Smrit

काठमाडौं। नेपालको प्रतिष्ठित दुई बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक एक आपसमा गाँभिने भएका छन्। मर्जरका लागि यी दुई बैंकबीच बिहीबार समझदारीपत्रमा (एमओयू) हस्ताक्षर भएको छ। सम्झौतापत्रमा हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार आगामी दुई महिनाभित्र यी दुई बैंकको मर्जर पूरा हुनेछ । मर्जरपछि बन्ने दुई बैंकको एक नयाँ नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’का नाममा सञ्चालनमा आउनेछ । सो बैंक हाल सञ्चालनमा रहेका नेपालका वाणिज्य बैंकहरूमध्ये सबैभन्दा ठूलो हुनेछ ।
मर्जरपछि बन्ने नयाँ बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणा रहनेछन् । हाल पाँडे नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष हुन् भने राणा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । नयाँ बैंकको डेपुटी सीईओमा ज्योति पाण्डे रहने सहमति भएको छ । पाण्डे हाल इन्भेस्टमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत छन् ।

यी दुवै बैंक एकै घरपरिवारबाट सञ्चालित छन् । हाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पाँडे र हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा साला–भिनाजु हुन् । सोही कारण राष्ट्र बैंकले यी बैंकलाई मर्जरमा जान पटकपटक आग्रह गर्दै आएको थियो । मर्जरपछि बन्ने बैंकको सञ्चालक समिति ७ सदस्यीय हुनेछ । यसमा हिमालयन र इन्भेस्टमेन्टबाट ३–३ जना र एक जना विज्ञ सदस्य रहनेछन् । यी बैंकको सेयर मिलान अनुपात (स्वाप रेसियो)१ः१ (हिमालयन बैंकको एक सेयर बराबर नेपाल इन्भेष्टमेन्ट बैंकको एक सेयर) रहनेछ ।