सर्वोच्चका लागि सिफारिस चार न्यायाधीशविरुद्ध उजुरी आह्वान, १० दिनको समय
काठमाडौं, २९ असाेज । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएका चार जनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ। समितिले प्रस्तावित न्यायाधीशविरुद्ध कात्तिक ९ गतेदेखि १० दिनसम्म उजुरी दिन सकिने जनाएको छ।
समितिका सचिव तुलबहादुर कँडेलका अनुसार असोज २६ गते बसेको बैठकले उजुरी आह्वान गर्ने निर्णय गरेको हो। कात्तिक ९ गतेदेखि उजुरी दिन सुरु हुने र कात्तिक १९ गतेसम्म उजुरी दिन सकिनेछ।
समितिका सभापति बोधनारायण श्रेष्ठले न्याय परिषद्को पत्राचारअनुसार सुनुवाइ प्रक्रिया अघि बढाउँदै उजुरी आह्वान गर्ने निर्णय गरिएको जानकारी दिएका थिए।
न्याय परिषद्को असोज २० गते बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि चार जनाको नाम सिफारिस गरेको थियो। सिफारिस हुनेमा उच्च अदालतका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द तथा उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन्।
उजुरी दिने समयसीमा समाप्त भएपछि संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रक्रिया अघि बढाउनेछ।
