भारतमा डुङ्गा दुर्घटना हुँदा १३ बालबालिकाको मृत्यु, सात जनाको उद्धार

sub title भोजमा सहभागी हुन जाने क्रममा १५ देखि २० जना सवार डुङ्गा पल्टियो मृतकका परिवारलाई भारतीय प्रधानमन्त्रीबाट दुई लाख र बिहार सरकारबाट चार लाख रुपैयाँ सहायता घोषणा उद्धार गरिएका सात जनाको अवस्था स्थिर, बेपत्ताको खोजी जारी

वैशाली (भारत), बिहार राज्यको वैशाली जिल्लामा डुङ्गा पल्टिँदा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनाको उद्धार गरिएको छ।

जिल्ला मजिस्ट्रेट वर्षा सिंहका अनुसार मृत्यु हुने सबै बालबालिका १५ वर्ष वा सोभन्दा कम उमेरका छन्। मङ्गलबार साँझ करिब ८ः३० बजे छिमेकी गाउँमा भोजमा सहभागी हुन जाने क्रममा १५ देखि २० जना सवार डुङ्गा पल्टिएर दुर्घटना भएको उहाँले बताउनुभयो।

दुर्घटनामा उद्धार गरिएका सात जनालाई उपचारका लागि एनएमसीएच लगिएको छ। उनीहरूको अवस्था स्थिर रहेको जिल्ला मजिस्ट्रेट सिंहले जानकारी दिनुभयो।

घटनास्थलमा राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ) को टोली परिचालन गरिएको थियो। स्थानीय गोताखोरको सहयोगमा उद्धार कार्य सञ्चालन गरिएको र दुर्घटनापछि बेपत्ता भएका अन्य व्यक्तिको खोजीसमेत गरिएको उहाँले बताउनुभयो। घटनाबारे थप विवरण आउन बाँकी छ।

यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा बालबालिकाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। उहाँले मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोष (पीएमएनआरएफ) बाट प्रतिपरिवार दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई जनही ५० हजार भारतीय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गर्नुभएको छ।

प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको सन्देशमा मोदीले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ। उहाँले प्रभावितलाई स्थानीय प्रशासनले आवश्यक सहयोग गरिरहेको पनि उल्लेख गर्नुभएको छ।

त्यसैगरी, बिहारका मुख्यमन्त्री सम्राट चौधरीले दुर्घटनामा ज्यान गुमाएका बालबालिकाका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *