तातोपानी नाका नियमित सञ्चालन गर्न माग : दुई दिनमा १० कन्टेनर मात्रै भित्रिए
तातोपानी नाका
काठमाडौँ, कार्तिक २ । नेपाल–चीन व्यापारको प्रमुख नाकामध्ये एक तातोपानी नाकालाई नियमित रूपमा सञ्चालनमा ल्याउन माग गरिएको छ। कात्तिक १ गतेदेखि तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा ल्याइएको नाकाबाट दुई दिनमा १० वटा मालवाहक कन्टेनर मात्रै नेपाल भित्रिएका छन् ।
नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीले सीमित अवधिका लागि मात्रै नाका सञ्चालन हुँदा दसैँ, तिहारलगायत चाडपर्व लक्षित सामग्री नेपाल भित्र्याउन कठिन भएको बताउनुभयो। उहाँका अनुसार चीनको सिचाङस्थित न्यालम क्षेत्रमा चाडपर्वका लागि ल्याइएका सामान बोकेका ४५ भन्दा बढी कन्टेनर रोकिएका छन् ।
“तीन दिनका लागि मात्रै सञ्चालनमा आएको नाकाबाट सीमामा रोकिएका सबै सामान ल्याउन सम्भव छैन। त्यसैले नाकालाई नियमित रूपमा सञ्चालन गर्न आवश्यक छ,” उहाँले भन्नुभयो ।
महासचिव पराजुलीका अनुसार सङ्घले नाका निरन्तर सञ्चालनका लागि चीन सरकार र नेपालस्थित चिनियाँ दूतावासलाई ध्यानाकर्षणपत्र बुझाइसकेको छ। सीमामा रोकिएका कन्टेनरमा नाशवान् वस्तु, कृषि उत्पादन तथा मौसमी व्यापारिक सामग्रीसमेत रहेकाले ती सामग्री बिग्रने जोखिम बढेको उहाँले बताउनुभयो ।
अन्य नाकासमेत नियमित रूपमा सञ्चालनमा नरहेको अवस्थामा दुई देशबीचको व्यापार सहजीकरणका लागि तातोपानी नाकालाई पूर्ण रूपमा सञ्चालन गर्नुपर्ने सङ्घको माग छ । नाका लामो समय बन्द हुँदा आयातकर्ताले आर्थिक क्षति बेहोर्नुपर्ने र चाडपर्वका लागि ल्याइएका सामग्री समयमै बजारमा पुर्याउन नसकिने अवस्था रहेको व्यवसायीको भनाइ छ ।
तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नरेन्द्रसिंह चैसिरका अनुसार आइतबार तीनवटा मालवाहक कन्टेनर नेपाल भित्रिएका थिए भने सोमबार साँझसम्म सातवटा कन्टेनर आएका छन्। उहाँले चीनले कार्गो ट्रकलाई मात्रै अनुमति दिएका कारण साना कन्टेनर आउन नसकेको जानकारी दिनुभयो ।
भन्सार अधिकृत चैसिरका अनुसार नेपाल भित्रिएका कन्टेनरमा फलफूल, जुत्ता, तयारी पोसाक तथा कृषिजन्य सामग्री रहेका छन्। नाकालाई नियमित रूपमा सञ्चालन गर्न सके सीमामा रोकिएका सामान भित्र्याउन सहज हुनुका साथै दुई देशबीचको व्यापारलाई समेत गति दिन सकिने अपेक्षा गरिएको छ ।
