जुम्लाबाट सात हजार ३३० मेट्रिक टन स्याउ निर्यात
स्याउ बाहिरी जिल्लामा निर्यात
काठमाडौँ, कार्तिक २ । जुम्लाबाट चालु सिजनमा सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा उत्पादित स्याउमध्ये हालसम्म उक्त परिमाणमा निर्यात भएको हो ।
कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार यस वर्ष जिल्लामा करिब १९ हजार ५०० मेट्रिक टन स्याउ उत्पादन हुने र त्यसबाट करिब ५५ करोड रुपियाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ । किसानले स्थानीय बगैँचाबाट प्रतिकेजी न्यूनतम ७५ रुपियाँमा स्याउ बिक्री गरिरहेका छन् ।
तातोपानी गाउँपालिका ६ स्थित बाँजारावलामा सात हजार १४० रोपनी क्षेत्रफलमा गरिएको सामूहिक स्याउखेतीबाट ३४ मेट्रिक टन स्याउ उत्पादन भएको छ । उक्त उत्पादनबाट ३० लाख रुपियाँ बराबरको स्याउ बिक्री भएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
जुम्लामा करिब चार हजार ६०५ हेक्टर अर्थात् ९२ हजार ८० रोपनी क्षेत्रफलमा स्याउखेती हुँदै आएको छ । चालु आर्थिक वर्षमा थप १०८ हेक्टर अर्थात् दुई हजार १६० रोपनी क्षेत्रफलमा स्याउखेती विस्तार गर्ने लक्ष्य रहेको अधिकारीले बताउनुभयो ।
जिल्लामा उच्च जातको फुजी स्याउ ५२ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । यस वर्ष ४९ हेक्टरमा फुजी स्याउ फलेको कृषि विकास कार्यालयले जनाएको छ । यसबाहेक रेड डेलिसेस, रोयल डेलिसेस, गोल्डेन, रिचा रेड, जनाथन र स्पोरलगायतका जातका स्याउ उत्पादन तथा बिक्री वितरण हुँदै आएको छ ।
केही व्यापारीले स्याउ कोल्ड स्टोर तथा घरमा भण्डारण गरेकाले आगामी दिनमा निर्यात परिमाण र कारोबार थप बढ्न सक्ने कार्यालयको अनुमान छ । जिल्लाका आठवटै स्थानीय तहका करिब १९ हजार घरधुरी स्याउखेतीमा निर्भर रहेको कार्यालयले जनाएको छ ।
यस वर्ष भारतबाट आउने स्याउको आयात बन्द भएपछि जुम्लाको स्याउले बजारमा राम्रो अवसर पाएको छ । हिमा गाउँपालिकाकी स्थानीय स्याउ व्यापारी माया रोकायाले जिल्लाबाट एक हजार ५०० कार्टुन स्याउ खरिद गरी नेपालगञ्जमा बिक्री गरेको जानकारी दिनुभयो ।
