प्रधानमन्त्रीको निर्देशन–कोरोना कहरमा कसैको ज्यान जान दिनु भएन

काठमाडौं। प्रधानमन्त्री केपी ओलीलै जुनसुकै उपाय अपनाएर भए पनि नागरिकको ज्यान जोगाउन मातहतका मन्त्री, निकाय र अधिकारीहरुलाई निर्देशन दिएका छन्। सिंहदरबारमा प्रधानमन्त्री ओलीसमेत उपस्थित भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा ओलीले पैसाको अभावमा कसैको ज्यान नजाओस् भनेका हुन्।

यसैबीच, सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सबै शक्ति परिचालन गर्ने निर्णय गरेको छ । परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार देशको स्वास्थ्य प्रणालीलाई एकीकृतरूपमा महामारीविरुद्ध लगाउने निर्णय भएको हो । महामारी नियन्त्रण गर्न कानूनी जटिलता छ भने त्यसलाई पनि फुकाउने निर्णय भएको जनाइएको छ।

तत्काल खोप आपूर्तिको लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेको भनिएको छ। बैठकले महामारी नियन्त्रणमा संक्रामक रोग ऐन २०२० पर्याप्त नभएको भन्दै आवश्यक तयारी गर्न कानून मन्त्रालय र सम्बद्ध निकायलाई निर्देशन पनि दिइएको छ।