अव अस्पतालले अक्सिजन खोज्नु पर्दछ–विरामीका आफन्तले होइन

काठमाडौं। सरकारले कोरोना बिरामीका आफन्तलाई अक्सिजन सिलिण्डर खोज्न नलगाउन आग्रह गरेको छ।
बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अक्सिजन खोज्ने काम बिरामीका आफन्तको नभई अस्पतालहरुको भएको भनेका छन्। केही दिन यता सरकारले अस्पतालहरुलाई अक्सिजनको कोटा तोकेपछि अस्पतालहरुले बिरामीका आफन्तलाई नै अक्सिजन खोजेर ल्याउन भन्न थालेका छन् । जसका कारण अक्सिजनको खोजीमा बिरामीका आफन्तहरु विभिन्न अक्सिजन प्लान्टमा धाउने गरेका छन् ।

अक्सिजन प्लान्टमा पुग्दा पनि उनीहरुले नदिँदा सर्वसाधारण सास्ती ब्यहोर्दै आएका छन् भने समयमा अक्सिजन नपाउँदा थुप्रैं बिरामीको निधन हुने गरेको छ ।