गैरकानुनी बसोबास र शङ्कास्पद गतिविधि गरेको अभियोग ठमेलबाट १० बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ, २३ भदौ । काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका र शङ्कास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा १० जना बङ्गलादेशी नागरिक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई ठमेलका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार काठमाडौँ महानगरपालिका–२६ स्थित ठमेलका होटल तथा गेस्ट हाउसहरूमा विदेशी नागरिकहरू बिना अनुमति बसिरहेको गोप्य सूचनाका आधारमा छापा मारिएको थियो । पक्राउ परेकाहरूले नेपाल बस्ने अनुमति (भिसा) को म्याद समाप्त भए पनि गैरकानुनी रूपमा बसोबास गरिरहेको र विभिन्न शङ्कास्पद गतिविधिमा संलग्न रहेको प्रहरीको दाबी छ ।

प्रहरीले ठमेलस्थित होटल ढाका एक्सप्रेस, होटल डि भेढा र होटल अलरहमान लगायतका स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ४६ वर्षीया फहिमा अक्तार हसन, ४८ वर्षीय महामुद, ४५ वर्षीय महबूब हसन, ४९ वर्षीय रेपोन मेहमूद, ३० वर्षीय एमडी–केरामोत अलीखान, ३० वर्षीय साहिदुर रहमान, ५० वर्षीय एमडी खलिलुर रहमान, २८ वर्षीय आरिफुर रहमान, ४२ वर्षीय एमडी मारुफ मृधा र ६४ वर्षीय मोहम्मद हनिफ मियाँ रहेका छन् ।

पक्राउ परेका सबै बङ्गलादेशी नागरिकहरूलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि काठमाडौँको कालिकास्थानस्थित अध्यागमन विभागमा बुझाइएको छ । उनीहरू कुन उद्देश्यका लागि नेपालमा लुकिछिपी बसिरहेका थिए र उनीहरूको गतिविधिका पछाडि अरू कोही संलग्न छ कि छैन भन्नेबारे विभागले अनुसन्धान अघि बढाउनेछ । पछिल्लो समय ठमेल लगायतका क्षेत्रमा गैरकानुनी रूपमा बस्ने विदेशी नागरिकहरूमाथि प्रहरीले निगरानी बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *