रुस र उत्तर कोरिया जोड्ने पहिलो सडक पुल सञ्चालनमा : सम्बन्ध सुधारको नयाँ कडी

एजेन्सी २४ भदौ । उत्तर कोरिया र रुसले आफ्नो बढ्दो रणनीतिक साझेदारीलाई थप मजबुत बनाउँदै दुई देश जोड्ने पहिलो सडक पुलको उद्घाटन गरेका छन् । टुमेन नदीमाथि निर्माण गरिएको यस ऐतिहासिक पुललाई दुवै देशले आपसी सहकार्य र मित्रताको नयाँ प्रतीकका रूपमा प्रस्तुत गरेका छन् ।

सोमबार आयोजित एक विशेष समारोहका बीच पुलको औपचारिक उद्घाटन गरिएको हो । उद्घाटनका क्रममा उत्तर कोरियाली उच्च अधिकारी पाक थाई सङले पुल निर्माण सम्पन्न हुनु द्विपक्षीय सहयोगको क्षेत्रमा नयाँ गति थप्ने एक कोशेढुङ्गा भएको बताउनुभयो । यता रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले पनि यो पुलले दुई राष्ट्रबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता मस्को र प्योङयाङबीचको सैन्य तथा आर्थिक सम्बन्ध निकै घनिष्ट बन्दै गएको छ । सन् २०२४ मा उत्तर कोरियाले रुसको कुस्र्क क्षेत्रमा युक्रेनी सेनाविरुद्ध लड्न हजारौँ सैनिक पठाएको थियो । सोही वर्ष दुवै देशले एक–अर्काको रक्षा गर्ने गरी ‘पारस्परिक रक्षा सन्धि’ समेत गरेका थिए ।

रुससँगको बढ्दो सहकार्यले उत्तर कोरियाको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पारेको देखिएको छ । दक्षिण कोरियाको केन्द्रीय बैंकका अनुसार सन् २०२५ मा उत्तर कोरियाको अर्थतन्त्र लगातार तेस्रो वर्ष तीन प्रतिशतभन्दा बढीले विस्तार भएको छ, जसको प्रमुख आधार रुससँगको आर्थिक साझेदारीलाई मानिएको छ ।

यसैबीच, युक्रेनी अधिकारवादी समूह ‘ट्रुथ हाउन्ड’ले यो नयाँ सडक मार्गको प्रयोग सैन्य प्रयोजनका लागि हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । पुलका माध्यमबाट उत्तर कोरियाली सेना तथा सैन्य अधिकारीहरू रुस पुर्‍याउन सहज हुने र रुसी सैन्य प्रविधि उत्तर कोरिया भित्र्याउन यसको दुरुपयोग हुन सक्ने चेतावनी सो समूहले दिएको छ ।

पछिल्लो समय विश्व राजनीतिमा दुई ध्रुव स्पष्ट हुँदै गर्दा रुस र उत्तर कोरियाबीचको यो भौतिक र कूटनीतिक निकटतालाई अन्तर्राष्ट्रिय जगतले निकै चासोका साथ हेरेको छ ।