भोटेकोशी बाढीको असर : रसुवागढीको विकल्प बन्यो कोरला नाका, १० कन्टेनर फलफूल भित्रिए

मुस्ताङ, २३ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी–केरुङ नाका ठप्प भएपछि उत्तरी मुस्ताङको कोरला नाकाबाट चिनियाँ फलफूल नेपाल भित्रिन थालेको छ । गत भदौ १० गतेको बाढीले मुख्य व्यापारिक मार्गहरू अवरुद्ध भएपछि व्यवसायीहरूले कोरला नाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न थालेका हुन् ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार आइतबार र सोमबार गरी दुई दिनमा १० कन्टेनर फलफूलको भन्सार जाँचपास भई नेपाल भित्रिएका छन् । केरुङ नाकामा रोकिएका फलफूलका कन्टेनरहरूलाई त्यहाँबाट फर्काएर कोरलास्थित चिनियाँ बजार ‘लिजी’ पुर्‍याइएको थियो, जहाँबाट नेपाली कन्टेनरमा सामग्री ‘पल्टी’ गरी नेपाल ल्याइएको हो ।

कोरला नाकास्थित लोमान्थाङ–४, न्हेचुङमा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालयका अनुसार दुई दिनमा उल्लेख्य परिमाणमा फलफूलको जाँचपास भएको छ । कार्यालयकी प्रतिनिधि बन्दना घर्तीमगरले दिएको जानकारीअनुसार निम्न परिमाणमा फलफूल भित्रिएका छन्:
स्याउ : ८७,००० किलोग्राम, नासपाती : २६,१०० किलोग्राम, आँप : १५,४०० किलोग्राम, ड्रागन फ्रुट : ९,४५० किलोग्राम, एभोकाडो (घिउ फल) : ८,००० किलोग्राम आइपुगेका हुन् ।

साँढे दुई दशकअघि (साठीको दशक) स्थापना भएको कोरलास्थित प्लान्ट क्वारेन्टाइन कार्यालय पहिलो पटक व्यावसायिक रूपमा सञ्चालनमा आएको हो । तातोपानी र केरुङ दुवै नाका बन्द भएपछि सरकारले यो नाकाबाट पैठारी सहज बनाउन विशेष पहल गरेको छ ।

यद्यपि, यहाँ पूर्वाधारको भने अझै अभाव छ । कार्यालयमा फलफूल परीक्षण गर्ने अत्याधुनिक उपकरणको व्यवस्था नभएकाले प्राविधिकहरूले उपलब्ध स्रोतका आधारमा जाँचपास गरिरहेका छन् । भन्सार विभागको समन्वयमा दुई जना वरिष्ठ बाली संरक्षण अधिकृतलाई तत्कालका लागि लोमान्थाङ खटाइएको छ ।

नाका परिवर्तन गरी सामान ल्याउँदा ‘विरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन, २०६४’ को पूर्ण पालना गर्नुपर्ने व्यवस्था गरिएको छ । पैठारीकर्ता, निकासीकर्ता र भन्सार एजेन्टहरूले प्रवेश अनुमति र फाइटोस्यानिटरी सर्तहरू पूरा गरेपछि मात्रै सामान नेपाल पठाउन निर्देशन दिइएको छ ।

रसुवागढी नाका पुनः सञ्चालनमा आउन अझै समय लाग्ने देखिएकाले दसैँ र तिहारका लागि लक्षित चिनियाँ फलफूल र अन्य सामग्री अब मुस्ताङकै बाटो भएर भित्रिने निश्चित भएको छ ।