नागरिकता अध्यादेशले गैर नागरिकलाई नागरिकता दिँदैन – महान्यायाधिवक्ता बडाल

maitrinews

 

काठमाडौं । सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशबारे प्रश्न उठेपछि सोमबार पत्रकार सम्मेलन गरेका महान्यायाधिवक्ता रमेश बडालले संविधान कार्यान्वयनका लागि अध्यादेश ल्याएको बताए ।तर केही पूर्व सांसदले समेत राष्ट्रघात भयो, फिजिकरण गर्न खोजियो भनेर विरोध गरेको भन्दै बडालले प्रश्न गरे, संविधानको धारा ११ मा भएको कुरा जस्ताको तस्तै अध्यादेशमा ल्याउँदा कसरी राष्ट्रघात भयो ?’

उनले अघि, ‘संविधानमा जसले नागरिकता पाउँछ भनिएको छ, अदालतले त्यो व्यक्तिलाई नागरिकता दे भनेको छ । त्यही व्यवस्था अध्यादेशबाट ल्याउँदा संविाधनको कार्यान्वयन गरिएको हो । यसभन्दा बाहेक एक अक्षर तलमाथि गरिएको छैन ।’ सम्मानित सर्वोच्च अदालतले थुप्रैवटा मुद्दामा आदेश गरिसकेको र त्यो आदेशको कार्यान्वयन नहुँदाखेरिको बखत अपहेलनाको मुद्दाहरु आउनसक्ने र थुप्रै नेपाली नागरिक अदालतमा गइसकेपछि चाहिँ नागरिकता पाउने, अदालत नगएसम्म नागरिकता नपाउने स्थितिलाई अन्त्य गर्नका लागि हामीले इनिसियट गरेका हौं’ उनले भने ।

नेपालमा जन्मको आधारमा अझै पनि १ लाख ९० हजार ७२६ जनाको सन्तानले अहिलेसम्म नागरिकता पाउन नसकेको बडालले बताए । अहिलेको अध्यादेशमा वैवाहिक अंगीकृतको विषयमा संसदमा भएको विधेयकमा विवाद भएकाले त्यो विषय समावेश नगरेको उनले बताए । ‘यो संविधानमा भएको व्यवस्था भन्दा दायाँबायाँ गएको छैन, अदालतको आदेशभन्दा दायाँबाया गएको छैन’ बडालले भने । महान्यायाधिवक्ता रमेश बडालले नागरिकता ऐन संशोधनसम्बन्धी अध्यादेश महान्यायाधिवक्ताकै कार्यालयको सिफारिसका आधारमा जारी भएको दावी गरेका छन् ।