बाढीले मेलम्ची बजार तहसनहस

maitrinews

 

मेलम्ची । अविरल वर्षासँगै आएको बाढीले मेलम्ची बजार तहसनहस भएको छ । मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ । बाढीमा स्थानीयहरूसमेत बगेको आशंका गरिए पनि कति बेपत्ता भए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको विवरण छ । इन्द्रावती र मेलम्ची जोड्ने मोटरेबल पुल बगेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताउनुभयो ।

हिजो बेलुका ५ बजेतिरबाटै मेलम्चीमा अब के हुने हो भन्ने छटपटी सुरु भइसकेको थियो । लार्केबाट मेलम्चीमा पानी ल्याउने भनिएको मुहानमा पहिरो गएर खोला थुनिएको खबर सुनेको केही घन्टापछि नै थुनिएको भाग फुटेर मेलम्ची बजारमा पानी पस्न थालिसकेको थियो ।

पहिलो बाढी आएको केही बेरमा हेलम्बुबाट पनि उस्तै खालको बाढी आयो । पानी मात्रै नभएर पहिरोको लेदोसहितको पानी बगिरहेको छ । एकैछिनमा खोला शान्त भएजस्तो हुन्छ अनि एकैछिन खोला उर्लेर आउँछ । सायद ठाउँठाउँमा पहिरो जाने, खोला थुनिने, थुनिएको भाग फुटने र फेरि बाढी आउने भएजस्तो देखिन्छ ।