मनसुन सक्रिय : तराई नजिक न्यूनचापीय रेखा, पाँच प्रदेशमा ‘भारी’ वर्षाको चेतावनी

काठमाडौँ,  साउन २१ । नेपालमा मनसुनी वायुको प्रभाव तीव्र भएसँगै देशभर वर्षाको गतिविधि बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेर नेपालको तराई भू-भाग नजिक अवस्थित छ ।

हालको मौसमी अवस्था
अहिले देशभर साधारणतया बदलीको अवस्था छ। बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसोको पूर्वानुमान
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका धेरै स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा हुने देखिन्छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भाग र मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको चेतावनी
विभागका अनुसार आज बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्र, कोशी प्रदेशका हिमाली र पहाडी भूभाग, साथै मधेस र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

रात्रिको मौसमी अवस्था
आज राति पनि देशभर बदलीको अवस्था कायमै रहनेछ। देशका हिमाली क्षेत्रमा मध्यम वर्षा र हिमपातको प्रक्षेपण गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा मध्यम वर्षाको सम्भावना छ । राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।

सतर्कता अपनाउन आग्रह
भारी वर्षा र मेघगर्जनका कारण हुन सक्ने बाढी, पहिरो तथा गेग्रान बहावको जोखिमलाई मध्यनजर गर्दै विभागले सम्बन्धित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको छ ।