काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ सेवा निवृत्त : भव्य समारोह बिच बिदाइ

काठमाडौँ, साउन २० । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ उमेर हदका कारण आजदेखि अनिवार्य अवकाशमा जानुभएको छ । महानगरपालिकाले आज एक विशेष समारोहको आयोजना गरी उहाँलाई भव्य बिदाइ गरेको छ ।

बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले नीति, योजना तथा कार्यक्रम कार्यान्वयनमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले खेल्नुभएको नेतृत्वदायी भूमिकाको उच्च प्रशंसा गर्नुभयो । डंगोलले भन्नुभयो, “कर्मचारी, जनप्रतिनिधि र साझेदार निकायसँगको समन्वय र सहकार्यका लागि उहाँले पुर्याउनुभएको योगदान महानगरले सधैं स्मरण गरिरहनेछ । पद अस्थायी भए पनि उहाँको सेवा यात्रा र अनुभव आगामी दिनमा अझ परिष्कृत हुने हाम्रो विश्वास छ ।”

महानगरपालिकाको इतिहासमा प्रमुख प्रशासकीय अधिकृतकै पदमा बहाल रहेको अवस्थामा सेवा निवृत्त हुने गुरागाईँ पहिलो अधिकारी हुनुहुन्छ । कार्यक्रममा सुशासन समितिका संयोजक ख्यामराज तिवारीले महानगरको संस्थागत विकासमा गुरागाईँको ज्ञान र सीप आगामी दिनमा पनि उपयोगी हुने उल्लेख गर्नुभयो ।

आफ्नो साढे ३२ वर्षे लामो सेवा यात्राबाट विश्राम लिँदै गुरागाईँले काठमाडौँ महानगरपालिकामा बिताएको समय सबैभन्दा स्मरणीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रशासनिक सेवाका उतारचढावलाई मैले सहज रूपमा लिएको छु, महानगरको सेवा मेरो करियरकै एक महत्त्वपूर्ण अध्याय हो ।”

सेवा विवरण
वि.सं. २०५१ पुस १९ गते शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गर्नुभएका गुरागाईँले आफ्नो सेवा अवधिको करिब २१ वर्ष स्थानीय सेवामा बिताउनुभएको छ । उहाँले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग मन्त्रालय (समृद्धि आयोजना प्रमुख), र गृह मन्त्रालयअन्तर्गत प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीसमेत सफलतापूर्वक निर्वाह गर्नुभएको थियो । २०७६ फागुन १३ गते उहाँ नेपाल सरकारको सहसचिव (राजपत्राङ्कित प्रथम श्रेणी) पदमा नियुक्त हुनुभएको थियो ।

बिदाइ कार्यक्रममा महानगरका प्रवक्ता नवीन मानन्धर, कार्यपालिका सदस्यहरू, विभागीय प्रमुखहरू तथा महाशाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।