युरोपकाे डेन्यूब नदी सुकेपछि देखिए दोस्रो विश्वयुद्धका ‘नाजी’ युद्धपोत
एजेन्सी, २० साउन । युरोपमा खडेरीका कारण दोस्रो लामो नदी डेन्यूबको पानीको सतह ऐतिहासिक रूपमा घटेपछि एउटा अनौठो दृश्य देखिएको छ । नदीमा पानी कम भएपछि दोस्रो विश्वयुद्धका बेला नाजी जर्मनीले डुबाएका दर्जनौँ युद्धपोतहरू करिब ८० वर्षपछि पुनः सतहमा देखिन थालेका छन् ।
सर्बियाको प्रहोवो बन्दरगाह नजिक, सर्बिया र रोमानियाको सीमावर्ती क्षेत्रमा यी युद्धपोतका खिया लागेका अवशेषहरू देखा परेका हुन् । इतिहासकारहरूका अनुसार सन् १९४४ को सेप्टेम्बरमा सोभियत सेनाको अगाडि बढ्ने मार्ग छेक्न नाजी जर्मनीले आफ्ना करिब २०० युद्धपोतहरू जानाजानी डेन्यूब नदीमा डुबाएका थिए ।
अहिले नदीको सतह घट्दा देखिन थालेका कतिपय जहाजमा अझै पनि नाजी जर्मनीको झण्डा फहराइने खम्बाहरू र युद्धका अवशेषहरू यथावत् छन् ।
यी पुराना युद्धपोतहरू देखिन थालेपछि नदीमा नौवहन निकै जोखिमपूर्ण बनेको छ । कतिपय जहाजमा अझै पनि ठूलो परिमाणमा विस्फोटक पदार्थ र हतियारहरू रहेको विश्वास गरिएको छ, जसका कारण तिनलाई हटाउने कार्य निकै जटिल र खतरनाक बनेको छ ।
युरोपेली सङ्घ (इयु) को आर्थिक सहयोगमा सर्बियाले यी जहाजहरू हटाएर जलमार्गलाई सुरक्षित बनाउने प्रयास गरिरहेको भए पनि विस्फोटकको जोखिमले काम सुस्त भएको छ ।
१० वटा युरोपेली मुलुक भएर बग्ने डेन्यूब नदीमा पानीको सतह घट्दा यातायात मात्र होइन, ऊर्जा उत्पादनमा समेत गम्भीर असर परेको छ । अत्यधिक गर्मी र खडेरीका कारण जलविद्युत केन्द्रहरू सञ्चालन गर्न कठिन भएपछि मध्य तथा पूर्वी युरोपका धेरै देशहरूले ऊर्जा बचतका उपायहरू अपनाउन थालेका छन् ।
विज्ञहरूले यो असामान्य खडेरीलाई जलवायु परिवर्तनको प्रत्यक्ष असरका रूपमा लिएका छन् । प्रहोवोका स्थानीय बासिन्दा क्रिस्टा ब्रान्डिकका अनुसार नदीमा पानीको सतह यति धेरै घटेको छ कि ठूला जहाजहरूको आवागमन लगभग ठप्प भएको छ । “अहिले नदी पार गर्नसमेत समस्या भइरहेको छ, यस्तो अवस्था पहिले कहिल्यै देखिएको थिएन,” उनले भनिन् ।
पानीको सतह घट्दै जाँदा एकातिर युद्धको इतिहास सतहमा आएको छ भने अर्कोतिर वर्तमान युरोपले गम्भीर वातावरणीय र आर्थिक चुनौतीको सामना गरिरहेको छ ।