एमाले अब ‘डिजिटल’ बन्दै: पार्टी सदस्यता प्रणाली पूर्णतः अनलाइन बनाउने

काठमाडौँ, २१ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नो साङ्गठनिक प्रणालीलाई आधुनिक बनाउँदै पार्टी सदस्यतालाई पूर्ण रूपमा ‘डिजिटल’ बनाउने भएको छ । पार्टीको ‘मिसन पार्टी जागरण’ अभियानअन्तर्गत बुधबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित एक कार्यशालामा यसबारे जानकारी दिइएको हो ।

पार्टीलाई प्रविधिमैत्री बनाउँदै तल्लो तहसम्म सङ्गठन गतिशील बनाउने र जनतासँगको सम्बन्ध थप सुदृढ गर्ने उद्देश्यले यो नयाँ कार्ययोजना अघि सारिएको एमालेले जनाएको छ ।

पार्टीका सचिव डा. राजन भट्टराईका अनुसार अब पार्टीको सम्पूर्ण विवरण, साङ्गठनिक अवस्था, प्रतिवेदन र जनसम्पर्कलाई डिजिटल माध्यमबाट व्यवस्थापन गरिनेछ । “हामी पार्टी पङ्क्तिलाई डिजिटल प्रणालीको उपयोग गर्न प्रेरित गरिरहेका छौँ,” भट्टराईले भने, “यसले पार्टीका सूचना र गतिविधिहरूलाई थप व्यवस्थित र पारदर्शी बनाउनेछ ।”

अर्का सचिव भानुभक्त ढकालले प्राकृतिक प्रकोप वा अन्य सङ्कटका बेला कागजी दस्तावेजहरू नष्ट हुने जोखिम रहने भएकाले सदस्यतालाई डिजिटल बनाउनु अनिवार्य रहेको बताए । डिजिटल प्रणालीले कामलाई चुस्त बनाउनुका साथै तथ्याङ्क सुरक्षित राख्न मद्दत गर्ने उनको भनाइ छ ।

डिजिटल प्रणाली कार्यान्वयनसँगै एमालेले कार्यकर्ताको राजनीतिक चेतना र क्षमता विकासका लागि वडा र पालिका स्तरमै प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको छ । प्रविधिको प्रयोगसँगै संगठनलाई वैचारिक रूपमा पनि बलियो बनाउन यस्तो अभियान चलाउन लागिएको एमाले राजधानी प्रदेश कमिटीले जनाएको छ ।