माथिल्लो तामाकोसीको बिजुली आजदेखि

maitrinews

 

काठमाडौं । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट पहिलो चरणको बिजुली उत्पादन हुँदै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज भर्चुअल माध्यमबाट माथिल्लो तामाकोशी आयोजना उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन हुन लागेको आयोजनाका प्रवक्ता डा। गणेश न्यौपानेले जानकारी दिए । असार मसान्तभित्रै आयोजनाको दोस्रो युनिटबाट थप ७६ मेगावाट बिजुली उत्पादन गर्ने तयारी गरिएको छ ।

माथिल्लो तामाकोशीमा ७६–७६ मेगावाटका ६ वटा युनिट छन् । भदौ महिनाभित्रै सबै युनिटबाट पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने लक्ष्य रहेको प्रवक्ता न्यौपानेले बताए ।

माथिल्लो तामाकोशी स्वदेशी लगानीको सबैभन्दा ठूलो आयोजना हो । शुरुआती लागत ३५ अर्ब रहे पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाब, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै ८० अर्ब हाराहारी पुगेको छ ।