शेरधनको प्रस्तावमा भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री
इटहरी । नेकपा एमालेको नेतृत्वमा रहेको प्रदेश(१ सरकारमा मुख्यमन्त्री परिवर्तन हुने भएको छ । वर्तमान मुख्यमन्त्री शेरधन राईकै प्रस्तावमा भीम आचार्यलाई आजै मुख्यमन्त्री नियुक्त गरी सपथ गराउने तयारी भइरहेको छ ।
आचार्यलाई दलको नेता चयन गर्न आज एमाले प्रदेश(१ संसदीय दलको बैठक बस्दैछ ।
नाम नबताउने सर्तमा मोरङका एक साम्सद भन्छन्, ‘बैठकले संसदीय दलको नेतामा भीम आचार्य चयन हुने र आजै मुख्यमन्त्रीको शपथ लिने सम्भावना छ।’
आचार्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउँदा प्रदेशभरका वहुसंख्यक माधवपक्षीय सदस्यहरु एमालेमै रहने र सरकारको नेतृत्व पनि एमालेमै रहने भएकाले मुख्यमन्त्री शेरधन राईले लचकता देखाउन लागेका हुन् । राईकै प्रस्तावमा आचार्य मुख्यमन्त्री बन्न लागेका हुन् ।
‘अब गुट भन्दा पार्टी महत्त्वपूर्ण भएकोले जे गर्दा एमाले पार्टी र सरकार जोगिन्छ त्यही गर्न मुख्यमन्त्री तयार हुनुनुन्छ,’ मुख्यमन्त्री स्रोत भन्छ ।
२०७४ माघ २६ गते एमालेका ५१ सांसदमा शेरधनले २६ का विरुद्ध २४ मत ल्याएर संसदीय दलको नेता भएका थिए। खोटाङका सांसद राजन राईको मत बदर भएको थियो। साढे तीन वर्ष अगाडि गुटको लाइनमा चुनाव लडेका राई र आचार्य एमाले जोगाउने मुद्दामा भने एक भएका छन् ।