गठबन्धनका केही ‘बाउन्सर’ शैलीकाहरुले भन्ने वित्तिक्कै राष्ट्रपतिले राजीनामा दिनुपर्ने कारंण छैनः अध्यक्ष ओली
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकका बिषयलाई लिएर माओवादी अध्यक्ष प्रचण्डले पछिल्लो समय दिएका अभिव्यक्तिको कढा आलोचना गर्नुभएको छ । प्रचण्डले राष्ट्रपतिले विद्येयकमा अलमल गरे राजीनामा दिनुपर्ने विवादास्पद अभिव्यक्ति दिएपछि पूर्वप्रधानमन्त्री ओलीले प्रचण्डको आलोचना गर्नुभएको हो ।
उहाँले नागरिकता समस्या समाधान गर्न नभई पाँचदलीय गठबन्धनले तराई–मधेशमा एमाले नागरिकता विरोधी हो भनी भ्रम छर्न ल्याएको पनि वताउनुभयो । ‘गठबन्धनले ल्याएको नागरिकता विधेयकमा राष्ट्रपतिले केही विषयमा पुनर्विचार गर्न भनी संसदमा फिर्ता पठाउँदा विधेयक संसदमा नपुग्दै संविधानले नचिन्नेहरू भेला भएर ‘बाउन्सर’ शैलीमा पुनर्विचार गर्दैनौं भनेका छन्,’ अध्यक्ष ओलीले एमालेमा प्रवेश गर्नुभएका जनता समाजवादी पार्टीका सांसद तथा नेताहरूलाई स्वागत गर्दै भन्नुभयो, ‘तिनैमध्येका एकले अहिले राष्ट्रपतिले राजीनामा दिनुपर्ने भन्न थालेका छन् । दुुईतिहाईको आफ्नै दलको सरकार ढाल्ने, देश अधोगतितिर लैजाने, देश लुट्ने प्रतिगामी तत्वहरूले राजीनामा दिनु नपर्ने, राष्ट्रपतिले राजीनामा दिनुपर्ने ?’
बहुमतका आधारमा भोलि जनतालाई जवाफ दिन नपर्ने ‘बाउन्सर’ खालको मान्छेलाई यो–यो काम गर्ने भनी करारनामा गराई कानुनमन्त्री बनाइएको र उसले जनताबाट निर्वाचित जनप्रतिनिधिलाई पाठ सिकाउँदै गरेको अध्यक्ष ओलीको भनाई थियो । गठबन्धनमा रहेका दलहरूले एमालेका विरुद्धमा भ्रम छर्न सक्ने हुँदा तराई–मधेशका नेताकार्यकर्ताहरूले भ्रम चिर्ने काम गर्नुपर्ने वताउनुभयो ।
उहाँले आफ्नो नेतृत्वको सरकारका पालामा अध्यादेशमार्फत उक्त व्यवस्था गरी नागरिकता वितरण भइरहेको समयमा अदालतबाट नागरिकता वितरण रोक्न आदेश गराइएको स्मरण गर्दै त्यो बेला नरोकिएको भए समस्या समाधान भइसक्थ्यो भन्नुभयो
नेकपा (एमाले) ले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिनुपर्छ भन्ने मान्यता राख्ने स्पष्ट गर्दै त्यसका लागि यसै संसदबाट नागरिकता विधेयक संशोधन गर्ने हो भने अझै पनि समय रहेको अध्यक्ष ओलीले वताउनुभयो । गठबन्धन सरकारलाई नागरिकताको समस्या समाधान गर्नुछैन भन्दै अध्यक्ष ओलीले यदी जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने नै हो भने संसदमा दुईलाइनको संशोधन ल्याउनु, यसै संसदबाट पास गर्न सकिन्छ भन्नुभयो ।
उहाँले आफ्नो नेतृत्वको सरकारका पालामा अध्यादेशमार्फत उक्त व्यवस्था गरी नागरिकता वितरण भइरहेको समयमा अदालतबाट नागरिकता वितरण रोक्न आदेश गराइएको स्मरण गर्दै त्यो बेला नरोकिएको भए समस्या समाधान भइसक्थ्यो भन्नुभयो ।
अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले तराई–मधेशमा हुलाकी राजमार्ग निर्माणलाई गति दिएको, पूर्वपश्चिम राजमार्गबाट सबै जिल्ला सदरमुकाम जोड्ने सडक छ लेनमा विस्तार गर्ने काम भएको, जनता आवास कार्यक्रम शुरु गरी विपन्न घरवारविहीनलाई आवासको व्यवस्था गरेको, फुसका छाना हटाई अनुदानमा जस्तापाता उपलब्ध गराउने काम गरेको, जनकपुरसम्म रेलमार्ग निर्माण÷मर्मत गरी रेल किनेर सञ्चालनमा ल्याउने काम भएको लगायतका कामको स्मरण गर्नुभयो ।
उहाँले वर्तमान गठबन्धन सरकार गठन भएको १३ महिनामा देश अधोगतितर्फ गइरहेको, सबै आर्थिक सूचकाङ्क नकारात्मक रहेको, महंगी, मुद्रास्फितिका कारण जनताको जीवन कष्टकर बनेको र यही गठबन्धन रही रहँदा देश बर्बादीतर्फ जाने भएकाले देशलाई त्यसदिशामा जानबाट रोक्ने जिम्मेवारी एमालेको काँधमा आएको वताउनुभयो ।
कुनै नीति र गन्तव्य नभएको गठबन्धन लोकतन्त्रका लागि होइन, लुटतन्त्रका लागि काम गरिरहेको र राज्यसत्ता कब्जा गरेर विरोधीलाई सखाप पार्ने उद्देश्यमा केन्द्रित रहेको चर्चा गर्दै अध्यक्ष ओलीले देशमा लुटतन्त्र अन्त्यका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकपा (एमालें) लाई बहुमतका साथ विजयी गराउन सिङ्गो पार्टीपङ्ति दृढ सङ्कल्पका साथ लाग्नुपर्ने वताउनुभयो ।
