नगर–नगर साझेदारीमार्फत छिमेकी नगरको विकासमा नेतृत्व गर्दै काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख डंगोल

काठमाडौँ, मङ्सिर ८ । छिमेकी तथा नजिकका नगरपालिकाको विकासमा सहकार्य र साझेदारी विस्तार गर्दै काठमाडौँ महानगरपालिकाले नगर-नगर साझेदारी कार्यक्रमलाई अघि बढाएको छ । यसै क्रममा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा काठमाडौँ–धुलिखेल मैत्री पार्क निर्माण हुने भएको छ । पार्क निर्माणका लागि काठमाडौँ महानगरपालिका र धुलिखेल नगरपालिकाबीच साझेदारी सम्झौता भएको छ ।

सम्झौतापत्रमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगमले हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार धुलिखेल नगरपालिका ७ टुँडिखेलस्थित करिब १० रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिनेछ । पार्क निर्माणको अनुमानित लागत सात करोड रुपियाँ रहेको छ ।

बहुवर्षीय योजनाका रूपमा अघि बढाइने पार्क निर्माणका लागि काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा एक करोड रुपियाँ लागत सहभागिता उपलब्ध गराउनेछ । महानगरपालिकाबाट प्राप्त रकम सम्झौतामा उल्लेख भएको स्थान र योजनामै खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ ।

धुलिखेलमा सात करोड रुपियाँको लागतमा काठमाडौँ–धुलिखेल मैत्री पार्क निर्माण हुने, चालु वर्ष महानगरपालिकाले एक करोड रुपियाँ लगानी गर्ने

सम्झौतापछि कार्यवाहक प्रमुख डंगोलले साझेदारी कार्यक्रमको सफल कार्यान्वयनका लागि नागरिक सहभागिता र अपनत्व आवश्यक हुने बताउनुभयो । नागरिक केन्द्रित योजनामा स्थानीयको अपनत्व स्थापित हुन नसके निर्माण भएका पूर्वाधारसमेत अलपत्र पर्न सक्ने उहाँको भनाइ थियो ।

पार्कलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिँदै उहाँले आवश्यक स्थानमा मात्र कङ्क्रिट प्रयोग गर्न र प्राकृतिक स्वरूपलाई पार्कको आधारभूत विशेषता बनाउन आग्रह गर्नुभयो ।

धुलिखेलका कार्यवाहक प्रमुख जंगमले महानगरपालिकाको सहयोगले ठूलो लागतको योजना अघि बढाउन सम्भव भएको बताउनुभयो । सम्झौतामा उल्लेख गरिएका व्यवस्थाभन्दा पनि उत्कृष्ट नतिजा दिने गरी काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले निर्धारित समयभित्र निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । धुलिखेलका प्रमुख प्रशासकीय अधिकृत यमबहादुर कुँवरले पार्क निर्माणले दुई नगरबीचको मैत्रीपूर्ण सम्बन्धलाई दीर्घकालीन र संस्थागत बनाउन सहयोग पुग्ने बताउनुभयो ।

महानगरपालिकाका वडाध्यक्ष योगेशकुमार खड्गीले अन्य नगरपालिकाको विकासमा समेत सहयोग गरेर स्थानीय तहलाई बलियो बनाउने उद्देश्यअनुरूप साझेदारी कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्नुभयो । पार्क निर्माण हुने धुलिखेल नगरपालिका ७ का वडाध्यक्ष रोमीप्रसाद श्रेष्ठले आफ्नो लामो वडाध्यक्ष कार्यकालमा प्राप्त भएकामध्ये यो ठूलो योजना भएको बताउँदै बहुवर्षीय योजनालाई निरन्तरता दिन महानगरपालिकाले आगामी वर्षहरूमा पनि बजेट विनियोजन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्झौताअनुसार पार्क प्रवेशका लागि जारी गरिने टिकट, पार्कसम्बन्धी वृत्तचित्र, पुस्तिका, शिलालेख तथा अन्य प्रचार सामग्रीमा ‘काठमाडौँ महानगरपालिकाको साझेदारीमा निर्माण भएको पार्क’ भन्ने उल्लेख गर्नुपर्नेछ । पार्क निर्माणका क्रममा थप प्राविधिक परामर्श आवश्यक परेमा काठमाडौँ महानगरपालिकाले विषयविज्ञमार्फत निःशुल्क परामर्श सेवा उपलब्ध गराउनेछ ।

नगर-नगर साझेदारी कार्यक्रममार्फत काठमाडौँ महानगरपालिकाले छिमेकी तथा नजिकका स्थानीय तहसँग विकास निर्माण, पूर्वाधार र सेवा प्रवाहका क्षेत्रमा सहकार्य विस्तार गर्दै आएको छ । धुलिखेलमा निर्माण हुने मैत्री पार्कलाई दुई नगरबीचको सहकार्य र सम्बन्धलाई भौतिक संरचनामार्फत संस्थागत गर्ने योजनाका रूपमा अघि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *