प्रधानमन्त्री देउवासँग अध्यक्ष ली को शिष्टाचार भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले नेपालको परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तमा आधारित रहेको जानकारी दिँदै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनु भएको थियो । त्यसक्रममा प्रधानमन्त्री देउवाले चीनका विरुद्ध नेपाली भूमिमा कुनै पनि गतिविधि गर्न नदिइने प्रतिबद्धता जनाउनु भएको थियो । उहाँले नेपालको आर्थिक सामाजिक क्षेत्रमा विगत लामो समयदेखि चीनले गर्दै आएको सहयोगको प्रशंसा गर्नुभएको थियो ।

ली दुई देशबीच छ दशकभन्दा लामो समयदेखि असल छिमेकीका रुपमा मैत्रीपूर्ण सम्बन्ध स्थापित हुँदै आएको बताउनु भएको थियो । सोमबार नेपाल भ्रमणमा आउनुभएका अध्यक्ष ली ले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग पनि भेटवार्ता गर्नुभएको थियो । परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि आजै अध्यक्ष ली ले शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।