सहकारीमार्फत सामूहिक कृषिमा जोडिदै पुम्देली
गण्डकी : पोखरा महानगरपालिका–२२ पुम्दीका किसानहरु सहकारीका माध्यमबाट सामूहिक कृषिमा जोडिन थालेका छन् । कृषिप्रतिको बढ्दो अनिच्छासँगै परनिर्भरता बढिरहेका बेला यहाँका किसानहरु सामूहिक कृषिमा जोडिन थालेका हुन् ।
गाउँ टोललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको पुम्दीभुम्दी कृषि सहकारी संस्थामा आवद्ध दुई सय ४० शेयर सदस्यलाई नै कृषि उत्पादनसँग जोड्ने योजनाका साथ विभिन्न कार्यक्रम अघि सारिएको छ । घर–घरमा भैँसीपालनमा जोड दिँदै सहकारीले गाउँमै राँगो खरिद गरिसकेको पुम्दीभुम्दी कृषि सहकारी संस्थाका अध्यक्ष खेमराज बरालले जानकारी दिनुभयो । राँगो खरिदसँगै भैँसीका लागि राँगो खोज्न भौतारिनुपर्ने अवस्था अन्त्य भएको छ ।
शेयर सदस्यका लागि भैँसीको प्रतिप्रजनन रु एक हजार पाँच सय लिने गरिएको जानकारी दिँदै उहाँले शेयर सदस्यबाहेक अन्यत्र राँगो आवश्यक परेमा राँगो पु¥याउनुपर्ने स्थानको भौगोलिक दूरीअनुसार शुल्क लिने गरिएको बताउनुभयो । उहाँका अनुसार पोखरा महानगरपालिका कृषि महाशाखाबाट ५० प्रतिशत अनुदानवापत प्राप्त रु ५० हजार र सहकारीको रु ५० हजारसहित रु एक लाखमा तीन वर्षअघि राँगो खरिद गरिएको हो ।
गाउँमा नै राँगो भएपछि गाउँमा क्रमशः भैँसीपालनतर्फ स्थानीयवासी आकर्षित हुँदै गएको स्थानीयवासी एवं कोदी शान्ति टोल विकास संस्थाका आशिषकुमार बरालले जानकारी दिनुभयो । ‘गाउँमा नै राँगो भएपछि भैँसीपालक कृषकलाई ठूलै सहयोग मिलेको छ’, उहाँले भन्नुभयो । गाउँबाट दैनिक दूध बिक्री गरी स्थानीयवासीले आयआर्जन बढाएका छन् ।
बाख्रापालनमा पनि जोड दिएको सहकारीले हालै सामूहिक बाख्रापालन सुरु गरेको छ । कुल ८० बाख्रापालन गर्ने लक्ष्य लिएको सहकारीले एक महिनाअघि ४० बाख्रा खरिद गरिसकेको छ । बाख्राका लागि खोरलगायतका पूर्वाधार निर्माणका लागि रु ५० लाखसम्म खर्च लाग्ने अनुमान गरिएको र हालसम्म करिब रु ४० लाख खर्च भइसकेको छ । थप बाख्रा चाँडै खरिद गर्ने गरी तयारी गरिएको बरालले जानकारी दिनुभयो ।
बाख्रापालन गर्न १२ वर्षका लागि १५ रोपनी जग्गा भाडामा लिएर निहारो, टाँकी लिपिलिपिजस्ता घाँस लगाउन थालिसकिएको छ । बाख्रापालनका लागि स्थानीय दुई जनाले प्रत्यक्ष रोजगारी पाइसकेका छन् ।
सहकारीमार्फत नै तरकारी खेतीका लागि टनेल निर्माणका लागि सहकारीमार्फत प्रोत्साहन एवं सहयोग गर्दै आइएकामा हाल गाउँमा करिब ३५–४० वटा टनेल निर्माण भइसकेका छन् । पोखरा बजारबाट नजिक रहेका कारण यहाँ उत्पादित तरकारीको बजारमा माग बढ्दो छ ।
