उपमेयर डंगोलको नेतृत्वमा कुमारीको रथ तान्दै सम्पन्न भयो ‘नानीचायाः’

काठमाडौँ । इन्द्रजात्राको आठौँ दिन अर्थात् अन्तिम दिन आज आश्विनकृष्ण चौथीका दिन कुमारीको रथलाई काठमाडौँको माथिल्लो भेगमा रहेको किलागल टोलबाट तानेर इन्द्रजात्रा समापन भएको छ ।

परम्परा अनुसार आज काठमाडौंको माथिल्लो भेगमा आधा क्षेत्रमा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा महिलाले मात्रै रथ तानेका छन् । इन्द्रजात्राको अन्तिम दिन रथ तानिने यो पर्वलाई ‘नानीचायाः’ भनिन्छ ।

कुमारीको रथयात्रा आरम्भ गर्ने राजा जयस्थिति मल्लले काठमाडौंको किलागल टोलमा बस्ने नानी भनिने आफ्नी प्रियसीलाई नजर गराउन रथयात्रा नै एक दिन लम्बाएर उक्त पर्व चलाएको हुनाले यसको नाम ‘नानीचायाः’ रहन गएको जनश्रुति पाइन्छ ।

महिलाका नाममा पर्व चलाएको हुनाले उक्त दिन महिलाले मात्रै रथ तान्ने केही बर्ष अघि देखि मात्र नयाँ चलन सुरु भएको हो । केही वर्ष अघिदेखि नानीचायाःका दिन श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ महिलाले मात्रै तान्ने चलन गरिएको थियो ।

आजै काठमाडौंको प्याफल, नरदेवी हुँदै किलागल, इन्द्रचोकमा रथ परिक्रमा गरी बसन्तपुरमा समापन गरिन्छ । आजै हनुमानढोकामा यःसिं ढालेर टेकु दोभानसम्म तानेर ल्याई त्यहीँ सेलाएपछि यो वर्षको इन्द्रजात्रा समापन हुन्छ ।