तराई मधेशमा ओली क्रेज

जनकपुरबाट ओलीको उद्घोष– ‘तराई मधेशमा एमाले पहिलो शक्ति बन्न कसैले रोक्न सक्दैन’

जनकपुर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले तराई मधेशमा एमाले प्रवेशको लहर चलेको बताउनु भएको छ । धनुषाको तिनकौरियामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो ।

उहाँले कुनै समय एमालेलाई पस्न निधेष गर्ने प्रयास भएको स्मरण गर्दै उहाँले भन्नुभयो– ‘एमाले सरकारका पालामा एमालेले गरेको विकास देखेर तराई मधेशमा पार्टी प्रवेशको लहर चलेको छ । कार्यक्रममा धनुषाको विदेह नगरपालिका तिनकोरियामा धनुषाकै क्षेत्र नम्बर २ का सांसद उमाशंकर अरगरियासहित करिब ४ हजार समर्थकलाई एमालेमा ओलीले स्वागत गर्नुभयो । उहाँले प्रवेश गरेकाहरुलाई सम्वोधन गर्दै मधेसको पहिलो शक्ति बन्नबाट एमालेलाई अब कसैले रोक्न नसक्ने दाबी गर्नुभयो । उहाँले एमालेलाई साथ दिए मधेसको विकास हुने पनि बताउनुभयो ।

उहाँले यसबीचमा मधेसबाट निर्वाचित ७ जना सांसदसहित १ लाख भन्दा बढी एमालेमा प्रवेश गरेको बताउनुभयो । उहाँले मधेसको विकास एमालेले थालेको दावी तथ्याङक प्रस्तुत गर्नुभयो । ‘राजमार्गबाट सदरमुकाम जोड्ने सडक उन्नतको काम एमालेले थाल्यो,’ उहाँले भन्नुभयो, ‘रेलको लिक हामीले बनायौँ, रेल हामीले किनेर ल्यायौँ र आज त्यो आधुनिक रेल चढेर म यहाँ आएँ । अब फर्किँदा हुलाकी राजमार्गबाट जान्छु, त्यो पनि एमालेले सम्पन्न गर्छ ।’