जलवायु परिवर्तनको असर : हिउँ चितुवा र नाउर संरक्षण गर्न मुस्ताङमा चरन अध्ययन
मुस्ताङ, १० मङ्सिर । जलवायु परिवर्तनका कारण उच्चलेकका चरन क्षेत्रमा पानीका स्रोत सुक्दै जानु, घाँसको गुणस्तर घट्नु र मिचाहा प्रजाति फैलिन थालेपछि नाउरको आहारा तथा बासस्थान संरक्षणमा चुनौती थपिएको छ । यसैलाई मध्यनजर गर्दै अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले चरन क्षेत्रको अवस्था र घाँसको गुणस्तर अध्ययन थालेको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत एक्यापका जोमसोम र लोमान्थाङ कार्यालयले हिउँ चितुवाको आहारा प्रजाति नाउरको संरक्षण तथा सङ्ख्या वृद्धि गर्ने उद्देश्यले छुट्टाछुट्टै सर्वेक्षण गरिरहेका छन् । तल्लो मुस्ताङका वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाका विभिन्न चरन क्षेत्र तथा उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्ययन क्षेत्रमा घाँसको नमूना सङ्कलन भइरहेको छ ।
एक्यापका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक सञ्जोग थकालीका अनुसार तल्लो मुस्ताङमा २४ खण्ड र ४८ उपखण्डबाट नमूना सङ्कलन भइरहेको छ भने उपल्लो मुस्ताङमा १५० खण्डबाट घाँसको नमूना लिइँदैछ । घाँसका प्रजाति, विविधता, जैविक पदार्थको मात्रा, पोषण तत्व तथा चरन क्षेत्रको अवस्था मापन गर्न नमूना प्रयोगशालामा परीक्षण गरिनेछ ।
एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार घाँसको पोषण गुणस्तर र उपलब्धताले नाउरको शारीरिक अवस्था तथा प्रजनन क्षमतामा पार्ने प्रभावसमेत अध्ययन गरिनेछ । गुणस्तरीय घाँसको अभावमा नाउर आहाराको खोजीमा बस्तीनजिक झर्न थालेपछि स्थानीय किसानका पशुचौपाया हिउँ चितुवाको आक्रमणको जोखिममा पर्ने गरेका छन् ।
चरन क्षेत्रको गुणस्तर सुधार, मिचाहा प्रजातिको नियन्त्रण र चरिचरनलाई व्यवस्थित गर्न सके नाउरको संरक्षणसँगै हिउँ चितुवा र यसको आहारा प्रजातिबीचको पारिस्थितिक सन्तुलन कायम गर्न सहयोग पुग्ने संरक्षणकर्मीको अपेक्षा छ ।
