बोलेरो पिकअप जिप र ट्र्याक्टर एकआपसमा ठोक्किँदा एकको मृत्यु, १३ घाइते
कावासोती, १० मंसिर । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनामा बोलेरो पिकअप जिप र ट्र्याक्टर एकआपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
गएराति करिब ९ बजे लु २ च ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आउँदै गरेको लु २ त २४१७ नम्बरको ट्र्याक्टर एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा बोलेरोमा सवार विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका ३० वर्षीय चुरेन्द्र चौधरी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा राति १०ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका १३ जनामध्ये आठ जनालाई थप उपचारका लागि राति ११ः५५ बजे चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको छ। रिफर गरिएकामध्ये मध्यबिन्दु नगरपालिका–१० अरुणखोलाका १८ वर्षीय अश्विन चौधरी र २० वर्षीय निर्मल चौधरीको अवस्था गम्भीर रहेको छ। अश्विनको मुख र छातीमा तथा निर्मलको टाउकोमा चोट लागेको छ।
त्यस्तै, भरतपुर रिफर गरिएका विनयी त्रिवेणी–४ सर्दीका १६ वर्षीय रविन चौधरी र २० वर्षीय रिजन चौधरीको अवस्था मध्यम छ। सोही स्थानका २३ वर्षीय विशाल राना, १५ वर्षीय श्याम चौधरी, १८ वर्षीय गुल्सन थापा र १९ वर्षीय युवराज चौधरीको अवस्था सामान्य रहेको छ।
घाइतेमध्ये पाँच जना स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि डिस्चार्ज भएका छन्। सर्दीका २६ वर्षीय सुमेन्द्र चौधरी र अरुणखोलाका २१ वर्षीय आदिश आले स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि डिस्चार्ज भएका हुन्।
त्यस्तै, मध्यबिन्दु प्रादेशिक अस्पतालमा उपचारपछि अरुणखोलाका १५ वर्षीय प्रिन्स विक तथा सेवा मेडिकल अरुणखोलामा उपचारपछि सोही स्थानका ४० वर्षीय खेमनारायण चौधरी र २६ वर्षीय घनश्याम चौधरी डिस्चार्ज भएका छन्। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
