१७ जनालाई अपाङ्गता प्रमाण पत्र वितरण

काठमाडौँ, ९ असोज । काठमाडौँ महानगरपालिकाको अपाङ्ग परिचय पत्र वितरण समन्वय समितिले आज परिचय पत्र वितरण गरेको छ । समितिकी संयोजक एवं महानगरकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा रहेको समितिमा पेश हुन आएका २२ जनाको निवेदनमध्ये १ वटा रातो (क वर्ग), ८ वटा नीलो (ख वर्ग) र ७ वटा पहेँलो (ग बर्ग) परिचय पत्र, १ वटा सेतो (घ वर्ग) गरी १७ वटा परिचय पत्र वितरण गरियो । ३ जना कागजपत्र नपुगेर फर्किनु भयो भने ३ जना अनुपस्थित रहनुभयो ।

समितिमा निवेदनका साथ पेश भएका कागजपत्रहरुको मूल्याङ्कन पछि कार्डको प्रकृति निर्धारण गरिएको थियो । शारीरिक अस्वस्थ्यता सम्बन्धी चिकित्सकबाट गरिएको परीक्षण सम्बन्धी कागजलाई हाडजोर्नी विशेषज्ञ डा. शिरिष अधिकारी र मनोचिकित्सक डा. प्रतीक योञ्जनले मूल्याङ्कन गर्नुभएको थियो । उहाँहरु त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत हुनुहुन्छ ।

प्रमाण पत्र वितरणपछि समितिकी संयोजक एवं उपप्रमुख डंगोलले, बोर्डर लाइन नजिक भएका विरामीलाई दुवै खालको परिचय पत्र दिन सकिने अवस्थामा उनीहरुलाई कसरी सम्बोधन गर्ने? विषय संवेदनशील रहेको बताउनुभयो । ‘यस्तो बेला रातो कार्ड पाउनु पर्ने व्यक्तिलाई नीलो र नीलो कार्ड दिनु पर्ने व्यक्तिलाई रातो कार्ड पर्न सक्छ । यस्ता केही अवस्थाहरु छन् । जसलाई नीतिगत प्रबन्धबाट सम्बोधन गर्नुपर्छ ।’ उहाँले थप्दै भन्नुभयो, ‘त्यसैले अब सामाजिक सुरक्षालाई वैज्ञानिक र व्यवस्थित गर्न आवश्यक नीतिगत सुधारका लागि काम गर्नु पर्ने बेला आएको छ । यसपछि भावनाले होइन, तथ्यले अवस्थालाई प्रमाणित गर्नेछ ।’

नीतिगत सुधारका लागि सामाजिक विकास विभागले, नेत्र रोग, नाक—कान—घाँटी, नशा तथा हाडजोर्नी र मनोचिकित्सकसँग बसेर अवस्थालाई तथ्यपरक बनाउने काम गर्नेछ । समितिका सदस्य सचिव एवं विभागका प्रमुख दीपक अधिकारीले भन्नुभयो, ‘अबको नीतिमा चिकित्सकले प्रयोग गर्ने शव्दावलीलाई परिचय पत्रको प्रकृति छुट््याउने आधार बनाइनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *