डवली संस्कृतिलाई पुनरुत्थान गर्छौः उपमेयर डंगोल

काठमाडौं, असोज ११ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, डवली संस्कृतिलाई पुनरुत्थान गर्ने बताउनुभएको छ । विश्व पर्यटन दिवस २०२२ का अवसरमा महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले बसन्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

‘अमूर्त संस्कृतिको विस्तार गर्ने ठाउँ नै डवली हो,’ उहाँले भन्नुभयो, ‘यसबाट प्रदर्शन हुने कलाले सहरलाई जीवन्त बनाउने मात्र होइन । विश्वभर परिचित पनि गराउँछ । त्यसैले हामी डवली पुनरुत्थान गर्ने सोचलाई पर्यटनसँग जोडेर बर्षभरि काम गर्नेछौँ ।’ डंगोलले आफ्नो चुनावी घोषणापत्रमा पनि डवली संस्कृतिलाई पुनरुस्थान गर्ने उल्लेख गुर्नभएको थियो ।

दिवसको अवसर पारेर बसन्तपुरमा कला महोत्सव आयोजना गरिएको थियो । काठमाडौँको संस्कार, संस्कृति र जीवनसँग जोडिएका काठ, धातु, पत्थर र माटोका सामग्री प्रदर्शन तथा विक्रीका लागि राखिएका थिए । डवली संस्कृति प्रवर्धन गर्न सम्पदा तथा पर्यटन विभागले नारायण मन्दिर अगाडिको डवलीमा १ सय जना कलाकारको प्रस्तुति रहने अर्केष्ट्रा प्रदर्शन गरिरहेको छ ।