इरानको आक्रमणमा इराकी कुर्दिश समूहका सात जनाको मृत्यु

काठमाडौं, १२ असोज । इरानले इराकमा कुर्दिश समूहविरुद्ध बुधबार सीमापारी गरेको आक्रमणमा सात जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका बताइएको छ ।

तेहरानले कुर्दिश महिला महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएको विरोधमा भइरहेको प्रदर्शनको विरोधमा घरेलु कारबाही तीव्र पारेका बेला इरानले हालैका दिनहरूमा स्वायत्त इराकी कुर्दिस्तानका जिल्लाहरूमा बारम्बार आक्रमण गरेको छ ।

कुर्दिस्तानको राजधानी अर्बिलस्थित क्षेत्रीय स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पछिल्लो आक्रमणमा कोइसिनजाक क्षेत्रमा चार जनाको मृत्यु हुनुका साथै १४ जना घाइते भएको र शेरावामा तीन जनाको मृत्यु हुनुका साथै १४ जना घाइते भएको जनाएको छ ।

स्वायत्त कुर्दिस्तानका एक वरिष्ठ अधिकारीले एएफपीसँग भन्नुभयो, “आक्रमणमा घाइते भएकामध्ये अधिकांश सर्वसाधारण रहेको जनाइएको छ ।

कुर्दिस डेमोक्रेटिक पार्टी अफ इरान ९केडीपीआई० ले ट्वीट गर्दै भनेको छ, “यी कायरतापूर्ण आक्रमणहरू यस्तो समयमा भइरहेका छन् जब इरानको सत्ताले कुर्दिश र इरानी जनताको नागरिक प्रतिरोधलाई दबाउन असमर्थ भएको छ ।”

इरानले महिलाका लागि कडा ड्रेस कोड उल्लङ्घन गरेको आरोपमा पक्राउ परेको तीन दिनपछि २२ वर्षीया अमिनीको तेहरानमा सेप्टेम्बर १६ मा मृत्यु भएको थियो । ओस्लोस्थित समूह इरान ह्युमन राइट्सका अनुसार उनको मृत्युपछि इरानभरि भएका विरोध प्रदर्शनमा इस्लामिक गणतन्त्र इरानमा कम्तीमा ७६ जनाको ज्यान गइसकेको छ ।