नुहाउन गएका दुई किशोरी बबई नदीमा बेपत्ता

दाङ, ५ कात्तिक । नुहाउन गएका दुई किशोरी बबई नदीमा डुबेर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा दाङको दङ्गीशरण गाउँपालिका–२ सिमलकुुनाकी १६ वर्षीया रमा शाही र सल्यानको दमाचौर घर भइ दङ्गीशरण–२ स्थित मामा घर आएकी १५ वर्षीया गोमा चन्द रहेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार दुवै जना आज दिउँसो बबईमा नुहाउन गएका थिए ।

तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ को सिमानामा पर्ने उक्त नदीमा तीन किशोरी सङ्गै गएका थिए । दङ्गीशरण–२ की १३ वर्षीया निरुता बस्नेत भने नदी छेउमै बसेकी थिइन् । दुवैजना बेपत्ता भएपछि उनले स्थानीयवासीलाई खबर गरेको केसीले बताउनुभयो ।

स्थानीयले खबर गरेपछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगेको थियो । अहिले प्रहरी र स्थानीयले दुवैजनाको खोजी गरिरहेको छ ।