निर्वाचन आयोगले अद्यावधिक गर्‍यो गगन नेतृत्वको कांग्रेस कार्यसमितिको विवरण, देउवा पक्ष समानान्तर महाधिवेशनको तयारीमा

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नयाँ कार्यसमितिको विवरण अद्यावधिक गरेको छ। आयोगका प्रवक्ता नारायण भट्टराईले आज विवरण अद्यावधिक गरेर आफूहरूले पत्र दिएको जानकारी दिएका छन्।

कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा भएको थियो। विशेष महाधिवेशनबाट आएको गगन नेतृत्वको कार्यसमितिले सम्पन्न गरेको १५औँ महाधिवेशनलाई नै निर्वाचन आयोगले मान्यता दिएको हो।

यसअघि पूर्वसभापति शेरबहादुर देउवा पक्षले आफूहरूले मंसिर २१ गते महाधिवेशन गर्ने भन्दै कार्यतालिकासहितको पत्र आयोगमा बुझाएको थियो। तर, आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने यसअघिको निर्णयलाई निरन्तरता दिँदै नयाँ विवरण अद्यावधिक गरेको हो।

यद्यपि, नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतमा परेको मुद्दा भने अझै विचाराधीन छ।

यसैबीच, देउवा पक्षले पनि आफ्नो समानान्तर महाधिवेशनका लागि पार्टीका पदाधिकारीको संख्या बढाउने तयारी गरेको छ। समानान्तर महाधिवेशनका लागि गठित विधान मस्यौदा समितिले पदाधिकारीको संख्या थप गर्ने प्रस्तावसहित विधानको मस्यौदा तयार पारेको हो।

समितिले तयार पारेको मस्यौदामाथि चुनदेवीस्थित सम्पर्क कार्यालयमा जारी बैठकले अन्तिम टुङ्गो लगाउने तयारी गरेको छ। बैठकमा सहभागी एक नेताका अनुसार पार्टीभित्र सबै पक्ष र समूहको प्रतिनिधित्व सुनिश्चित गर्न पदाधिकारीको संख्या बढाउनुपर्ने सुझाव तल्लो तहबाटै आएको छ।

ती नेताले भने, ‘सबैको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि पदाधिकारीको संख्या बढाउनुपर्छ भन्ने सुझाव तलबाट पनि आएको छ। त्यहीअनुसार मस्यौदा समितिले प्रस्ताव तयार पारेको हो।’

कुन पदमा कति संख्या थप गर्ने भन्ने विषयमा भने आजको बैठकले निर्णय गर्न सक्ने ती नेताले जानकारी दिए।

यसअघि गगन थापा नेतृत्वको संस्थापन पक्षले पनि विधान संशोधन गर्दै पदाधिकारीको संख्या बढाएको थियो। त्यसैको सन्दर्भमा देउवा पक्षले पनि आफ्नो समानान्तर महाधिवेशनका लागि पदाधिकारी संख्या थप गर्ने तयारी गरेको हो।

यसैबीच, देउवा पक्षको समानान्तर महाधिवेशन काठमाडौंको खुलामञ्चमा आयोजना हुने भएको छ। चुनदेवीस्थित सम्पर्क कार्यालयमा जारी बैठकमा निर्वाचन समितिका संयोजक अधिवक्ता एकराज पोखरेलले महाधिवेशनस्थल र आवश्यक तयारीबारे जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *