अटिजम भएका बालबालिकाका लागि काठमाडौं महानगरले बनाउँदै विशेष विद्यालय

९ करोड ७७ लाख रुपैयाँ लागतमा पाँचतले भवन निर्माण सुरु, शिक्षा, तालिम र अनुसन्धान केन्द्रका रूपमा सञ्चालन गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले अटिजम भएका बालबालिकाको शिक्षा, सीप विकास, तालिम तथा अध्ययन–अनुसन्धानका लागि विशेष विद्यालय भवन निर्माण सुरु गरेको छ। महानगरपालिकाले वडा नम्बर २९ मा ९ करोड ७७ लाख रुपैयाँ लागतमा पाँचतले भवन निर्माण गर्न लागेको हो।

बुधबार बिहान महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘काठमाण्डु स्कुल फर चिल्ड्रेन विद अटिजम एन्ड रिसर्च सेन्टर’ भवनको शिलान्यास गरेकी हुन्। वडा नम्बर २९ का अध्यक्ष कुश ढकाल, जनप्रतिनिधि तथा स्थानीयवासीको उपस्थितिमा जग पूजा गरी भवन निर्माणको औपचारिक सुरुआत गरिएको हो।

शिलान्यास समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले शारीरिक वा बौद्धिक अपाङ्गताका कारण कुनै पनि बालबालिका शिक्षा तथा आधारभूत अधिकारबाट वञ्चित हुन नहुने बताइन्।

उनले हरेक बालबालिकाले पढ्न, खेल्न, अवसर प्राप्त गर्न र सम्मानपूर्वक जीवनयापन गर्न पाउने समान अधिकार भए पनि अटिजम तथा शारीरिक अशक्तताका कारण अझै धेरै बालबालिका शिक्षाको पहुँचबाट बाहिर रहेको उल्लेख गरिन्।

“अटिजमलगायतका बौद्धिक र शारीरिक अपाङ्गता सिकाइको बाधक बन्नुहुँदैन भन्ने परिकल्पनासहित हामी अघि बढेका छौँ। आजको यो शिलान्यास भवनको मात्र होइन, हामीले कल्पना गरेको मानवता र करुणाको सहरमा एउटा इँटा थप्ने काम हो,” उनले भनिन्।

काठमाडौंमा अटिजम भएका बालबालिका र उनीहरूका अभिभावकलाई विशेष सहयोग तथा सेवाको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै डंगोलले निर्माणाधीन संरचना बहुउपयोगी हुने विश्वास व्यक्त गरिन्।

उनका अनुसार भवनलाई अटिजम भएका बालबालिकाको सीप तथा ज्ञान अभिवृद्धि गर्ने, तालिम सञ्चालन गर्ने, अध्ययन तथा अनुसन्धान गर्ने र अभिभावकलाई आवश्यक सहयोग उपलब्ध गराउने केन्द्रका रूपमा विकास गरिनेछ।

महानगरपालिकाको सार्वजनिक निर्माण विभागले तयार पारेको डिजाइनअनुसार वडा नम्बर २९ को प्रशासनिक भवनको पूर्वतर्फ ४५० दशमलव ८० वर्गमिटर क्षेत्रफलमा भवन निर्माण हुनेछ।

डिजाइनर इन्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार भवनको लम्बाइ ९२ फिट रहनेछ भने चौडाइ पूर्वतर्फ ३५ फिट र पश्चिमतर्फ २२ फिट हुनेछ।

विशेष आवश्यकता भएका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने तथा उनीहरूको क्षमता र सीप विकासका लागि आवश्यक वातावरण निर्माण गर्ने उद्देश्यले महानगरपालिकाले यो परियोजना अघि बढाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *