तिहारले रोकिदियो कांग्रेसको घोषणापत्र

काठमाडौं, ७ कात्तिक । आज लक्ष्मीपूजाकै दिन सार्वजनिक गर्ने तयारीमा रहेको नेपाली कांग्रेसको चुनावी घोषणापत्र अन्तिममा आएर रोकिएको छ । उता राजनीतिक वृत्तमा भने कांग्रेसको घोषणापत्र रोकिएकोमा विभिन्न अडकल काट्न शुरु गरिएको छ ।

कांग्रेसले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा हाल उपत्यकाबाहिर रहनुभएका कारण घोषणापत्र सार्वजनिक गर्न नसकिएको जनाउ दिएको छ । घोषणापत्र बारे बुझ्न आउने सञ्चारकर्मीहरूलाई कांग्रेस नेताहरूले प्रम देउवा उपत्यकामा उपलब्ध नहुनुभएका कारण घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित भएको जानकारी दिने गरिएको छ ।

कांग्रेसकै अर्को सूत्रले भने घोषणापत्र तयार भइसके पनि छपाइ नसकिएको कारण सार्वजनिक नगरिएको जनाएको छ । घोषणापत्र छपाइ गर्ने छापाखानामा तिहारका बेला काम नहुने भएकोले छपाइ रोकिएको जानकारी पनि सूत्रले दिएको छ ।

घोषणापत्रको इ–कपी भने तयार भइसकेको छ । हार्ड कपी नसकिए आज इ–कपी भए पनि सावैजनिक गरौँ भन्ने सुझाव पनि आएको थियो । तर पार्टीले त्यसलाई पनि अस्वीकार गरी अब तिहारपछि मात्रै सार्वजनिक गर्ने निर्णय गरेको छ ।

त्यस्तै सभापति देउवा समर्थित एक अर्को सूत्रले भने तिहारका बेला घोषणापत्र सार्वजनिक गर्दा त्यसले उचित प्रचारप्रसार नपाउने हुनाले आजको सार्वजनिक कार्यक्रम रोक्न दिइएको जानकारी दिएको छ । सूत्रले भने, ‘तिहार जस्तो ठूलो चाड अगाडि छ, मान्छेको ध्यानै जाँदैन । त्यसैले स्थगित गरिएको हो ।’

अब तिहार सकिनेबित्तिकै कांग्रेसले आफ्नो घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । सूत्रका अनुसार कांग्रेसले यसपालीको घोषणापत्रलाई अत्यन्त सूत्रवद्ध शैलीले तयार गरेको छ । पूरा गर्न नसकिने आश्वासनहरू यसमा केही नभएको दावी पनि सूत्रले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *