अन्तर्वार्ता

जमिनदारहरुले मलाई कमलरी र मैले उहाँहरुलाई जमिनदार भनेर विर्सिसकेका छौँः शान्ता चौधरी

कुनै समय मुख्य गरेर पश्चिम तराईका बाँके, बर्दिया, कैलाली कञ्चनपुर र दाङ जिल्लामा कमलरी राख्ने चलन थियो । त्यहि चलन अनुसार आठ वर्षको कलिलो उमेरमा जमिनदारको घरमा कमलरी बस्नु भएकी शान्ता चौधरीको १० वर्ष अर्थात आफ्नो किशोरी उमेर जमिनदारको घरमा कमलरी भएरै वित्यो ।

दाङको गरिब थारु परिवारमा जन्मिनु भएकी शान्तासँग अथाह पीडाका पहाड फुटाएको मात्रै अनुभव छैन । उहाँसँग सांसद भएर मुलुकको सबै भन्दा शक्तिशाली सिंहदरबारको मुलढोकाबाट छिरेका सुनौला अवसरको अनुभव पनि छ । बाल्यकालमा हाँस्न नपाएका, खेल्न नपाएका, पढ्न नभाएका, आफ्ना मातापितासँग हात समातेर हिँड्न नपाएका अथाह बेदनाका कथा पनि शान्ताले भोगेकी छिन् ।

आफू दाँवलका किशोर, किशोरीहरु झोला भिरेर, किताव च्यापेर विद्यालय जाँदाका दृष्यहरुले शान्ताका शान्त आँखा आशान्त बनिदिन्थे । मनमा बेदनाका पहाड आएर थिचिदिन्थे । ती सबै दृष्यले शान्ताको बालमस्तिष्कमा ठूलो घन जस्तो गरी बजारिन्थ्यो । विस्तारै समय फेरियो, उनी हुर्किएको धरती त्यहि थियो तर, उनका जीवनमा केही देखिन खालका परिवर्तनहरु भए । ती बेदनाका पहाड फुटाएर नेकपा (एमाले) जस्तो शक्तिशाली दलको सचेतकको जिम्मेवारी सम्हालेर संसदीय राजनीतिक अनुभवलाई समेत इस्पातिलो बनाउने अवसर शान्तालाई प्राप्त भयो ।

आफू दाँवलका किशोर, किशोरीहरु झोला भिरेर, किताव च्यापेर विद्यालय जाँदाका दृष्यहरुले शान्ताका शान्त आँखा आशान्त बनिदिन्थे । मनमा बेदनाका पहाड आएर थिचिदिन्थे । ती सबै दृष्यले शान्ताको बालमस्तिष्कमा ठूलो घन जस्तो गरी बजारिन्थ्यो । विस्तारै समय फेरियो, उनी हुर्किएको धरती त्यहि थियो तर, उनका जीवनमा केही देखिन खालका परिवर्तनहरु भए

उनै शान्ता अहिले कुनै समय आफू कमलरी बनेको जिल्लाका गाउँ–बस्तीमा हुनुहुन्छ । कुनै समयकी कमलरी शान्ता अहिले कमलरीका पीडा सुन्ने मात्रै होइन उनीहरुका समस्या समाधान गर्न सक्ने बलियो सेतुका रुपमा दाङका कमलरी बस्तीहरुमा उम्मेदवार बनेर भोट माग्दै हिड्नु भएको छ । कतै मुस्कुराउँदै त कतै ती पीडाका दिनको सम्झनामा भाबुक बन्दै अनि कतै थारु समूदायको संस्कृति र परम्परासँग एकाकार हुँदै चुनावी मैदानमा व्यस्त शान्ता आगामी मंसिर ४ को निर्वाचनका लागि दाङ १ बाट एमालेका तर्फबाट प्रतिनिधिसभा सांसदको उम्मेदवार हुनुहुन्छ ।

देउखुरी क्षेत्रमा मेटमणिको पार्टी नेकपा एसले स्थानीय निर्वाचनमा १ वडाध्यक्ष र केही वडा सदस्यमात्रै जितेको छ । त्यसवेला नेकपा एसले यो क्षेत्रबाट १ हजार ४ सय ५९ मत मात्रै ल्याएको थियो । कमजोर संगठन भएको एसलाई उम्मेदवार बनाउँदा गठबन्धनको ठूलो दल कांग्रेसका नेताहरु असन्तुष्ट बनेका छन् । त्यो पनि शान्ताका लागि जितको आधार हो ।

शान्ता त्यहाँका मतदाताको न्यानो मायाबाट निर्वाचित हुने दृढ अठोटमा हुनुहुन्छ । चौधरीसँग मैत्रीन्युजले गरेको कुराकानीः

चुनावी प्रचार–प्रसार अभियानमा हुनुहुन्छ, कस्तो प्रतिक्रिया प्राप्त भैरहेको छ ?

म अहिले मेरो निर्वाचन क्षेत्रका विभिन्न गाउँ–बस्तीमा चुनावी अभियानमा सक्रिय छु । अहिले म जहाँ–जहाँ पुगेकी छु । त्यहाँ–त्यहाँका मतदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेकी छु । म यहि दाङको माटोमा जन्मिए र यहिँको माटोमा हुर्किए । मैले यहाँको माटोमा धेरै पीडाका दिनहरु विताएकी छु । म अहिले जे भएकी छु । यहिँको माटोको देन हो भन्ने ठानेकी छु । त्यसैले अहिले म चुनावी अभियानमा सहभागी हुँदै गर्दा र उहाँहरुले मप्रति देखाएको सद्भावले थप उत्साहित भएकी छु ।

आठ वर्षको कलिलो उमेरमा जमिनदारको घरमा कमलरी बस्नुभयो । तपाईँको १० वर्ष अर्थात आफ्नो किशोरी उमेर जमिनदारको घरमा कमलरी भएरै वित्यो । अहिले त्यहि ठाउँबाट उम्मेदवार बनेर मत माग्दै हिँड्दा कस्तो अनुभव भैरहेको छ ?

मैले मेरो जीवनमा असम्भव भन्ने केही छैन भन्ने कुराको गहिरो अनुभव सँगालेकी छु । हरेक असंभव कुराको पनि संभावना रहन्छ भन्ने कुराको पनि मैले अनुभव सँगालेकी छु । त्यसैले कुनै समयकी म कमलरी अहिले नीति–निर्माण तहमा पुगेर यहाँका जनताको सेवा गर्ने भावनासहित मत माग्दै जाँदा कतै भाबुक बनेकी छु भने कतै उत्साहित पनि । यहाँको माटो अनि ती दिनको सम्झना गर्दा कहिले काँही सपना जस्तो पनि लाग्छ । अहिले मतदातासँग मत माग्दै गाउँ–बस्तीमा पुग्दा विगतका पीडा मानसपटलमा बेस्सरी चाच्छन् । अनि यहिँका बासिन्दासँग एसरी एकाकार हुँदै गर्दा उत्साह र उमंगले भरिएको अनुभूति हुन्छ ।

बाल्यकालमा हाँस्न नपाएका, खेल्न नपाएका, पढ्न नभाएका, आफ्ना मातापितासँग हात समातेर हिँड्न नपाएका अथाह बेदनाका कथा बेस्सरी मानसपटलमा नाचिदिन्छन् । आफू दाँवलका किशोर, किशोरीहरु झोला भिरेर, किताव च्यापेर विद्यालय जाँदाका ती बेलाका दृष्यहरुसँग एकाकार हुन मन लाग्छ । अनि यहाँका हरेक बालबालिकाको उज्यालो भविश्यका लागि उज्यालो ज्योति छरिदिने गहकिलो जिम्मेवारी मेरो पनि काँधमा छ भन्ने बोध हुन्छ । म यहाँबाट प्रत्यक्ष निर्वाचित भएर कानुन बनाउने ठाउँमा जादैँ गर्दा यहाँका झुपडीको कथा, अशिक्षाको कथा, गरिबीको कथा सबै बोकेर जानुपर्छ र बोल्नुपर्छ भन्ने अनुभूति पनि हुन्छ ।

कुनैबेलाकी कम्लरी अहिले पूर्व सांसदको हैसियतमा प्रत्यक्ष निर्वाचित सांसद बन्ने अदम्य आँटसहित जमिनदारहरुको महलमा पनि पुग्नुभएको होला । उहाँहरुबाट चाँहि कस्तो प्रतिक्रिया प्राप्त गर्नुभएको छ ?

उहाँहरुले मलाई कमलरी भनेर विर्सिसक्नु भएको छ र मैले पनि उहाँहरुलाई जमिनदार भनेर विर्सिसकेकी छु । त्यो त्यतिबेलाको परिस्थिति थियो । अहिले म उहाँहरुलाई सम्मान गर्छु । उहाँहरुले मलाई सम्मान गर्नुहुन्छ । यहाँ उहाँहरु र मेरो बिचमा कुनै पनि कुण्ठा र बदलाको लेस पनि बाँकी छैन ।

अहिले तपाईँ पूर्व सहकर्मीहरुसँग चुनावी मैदानमा हुुनुहुन्छ । यस्तो अवस्थामा जित निकाल्नेमा कत्तिको आशावादी हुनुहुन्छ ?

गठबन्धनबाट यो क्षेत्रमा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी हुनुहुन्छ म नेकपा (एमाले)को तर्फबाट । यहाँ प्रतिस्पर्धा हुने भनेको मेटमणिजीसँग नै हो । उहाँ कुनै समय नेकपा (एमाले) मै हुनुहुन्थ्यो र हामी सहकर्मी पनि थियौँ ।

अहिले यो क्षेत्रमा उहाँको दलको मत हेर्ने हो भने निकै कमजोर अवस्थामा छ । म उम्मेदवार बनेको पार्टी एमालेको यो क्षेत्रमा बलियो संगठन छ । बलियो संगठन मेरो जितको पहिलो आधार हो । उहाँ अहिले आफ्नो पार्टी र संगठनको भरमा भन्दा पनि अरु पार्टीको भरमा उम्मेदवार बन्नुभएको छ । कुनै समय आफ्नै खुट्टको त भर हुँदैन भने उहाँ अरुको सहारामा उभिँनु भएको छ । म मेरै संगठनको बलिया आधारमा छु । यो पनि मेरो जितको आधार हो भन्ने लाग्छ ।

म यहि समूदायमा जन्मिएकी र हुर्किएकी हुँ । मेरो विगतका पीडादायी पललाई पनि यहाँका मतदाताले अनुभव गर्नुभएको छ । मप्रति यहाँका मतदाताको आशा र भरोस पनि छ । यहाँका मतदाताको आशा, भरोसा र सहानुभूति पनि मेरो जितको आधार हो भन्ने लागेको छ ।

तपाईँको चुनावी एजेण्डाचाँहि के–के छन् ?

ठूला–ठूला सपना देखाउने मेरो चुनावी एजेण्डा छैनन् । यहाँका जनताको दैनन्दित समस्या समाधान गर्ने कुरालाई मैले चुनावी एजेण्डा बनाएकी छु । यहाँको सबै भन्दा ठूलो समस्या भनेको तटबन्धन हो । बेलाबेला देउखुरी डुब्ने गर्छ । यहाँका जनताको सबै भन्दा ठूलो समस्या यहि हो । मैले यसलाई प्राथमिकतामा राखेकी छु । मेटमणिजीले यहाँ केबुलकारको कुरा गर्नुभएको छ । यहाँका जनताका लागि अहिले केबुलकार चाहिएको छैन ।

यहाँका जनतालाई तटबन्धन चाहिएको छ । यहाँका जनतालाई शिक्षा चाहिएको छ । स्वास्थ्य चाहिएको छ । रोजगारी चाहिएको छ । यहाँका किसानलाई मल चाहिएको छ । यहाँको सिमा क्षेत्रमा बसेका सिमाका नागरिकलाई आफ्नै देशमा जान आफ्नै देशको भूगोल प्रयोग गर्ने चाहना छ । यहाँका महिलालाई उद्यमी बनाउनु पर्ने छ । यहाँका युवालाई रोजगारी चाहिएको छ ।

दाङमा प्रदेश राजधानी आयो । तर, व्यवस्थापन हुन सकेको छैन । यसलाई कान्र्यान्वयन गरेर लैजानु पर्ने छ । त्यसमा भूमिका खेल्नुपर्ने छ । यी र यस्तै योजना जुन बोल्ने मात्रै होइन गर्न सकिने योजना लिएर म मतदाताको घरदैलोमा पुगेकी छु । मतदाताबाट पनि सकारात्मक सहयोगको आश्वासन प्राप्त भएको छ । म उहाँहरुबाट आशावादी छु ।