“हाम्रो लक्ष्य विश्वकप जित्नु हो”: जापानका प्रशिक्षक मोरियासु

 

वासिङ्टन (एजेन्सी) ।  फिफा विश्वकप २०२६ मा एसियाली शक्ति जापानले यस पटक कुनै सानो लक्ष्य नभई सिधै विश्वकपको उपाधि जित्ने महत्वकाङ्क्षा राखेको छ। समूह ‘एफ’ को पहिलो खेलमा नेदरल्यान्ड्ससँग भिड्नुअघि जापानका मुख्य प्रशिक्षक हाजिमे मोरियासुले आफ्नो टोली विश्वका उत्कृष्ट टोलीहरूसँग प्रतिस्पर्धा गर्न ‘नडराउने’ बताएका छन्।

जापान अहिलेसम्म विश्वकपको अन्तिम १६ भन्दा अगाडि बढ्न सकेको छैन। तर, फुटबल विज्ञ सिन क्यारोलका अनुसार मोरियासुले यस पटक रणनीति परिवर्तन गरेका छन्। बिबिसी रेडियोसँग कुरा गर्दै क्यारोलले भने, “पहिले जापानले क्वाटरफाइनल पुग्ने लक्ष्य राख्थ्यो, जसले खेलाडीहरूको दिमागमा एउटा ‘पर्खाल’ वा सिमाना बनाउँथ्यो। अब सिधै उपाधि जित्ने लक्ष्य राखेपछि खेलाडीहरूले मानसिक रूपमा ती सबै सिमानाहरू तोडेका छन्।”

जापानले पछिल्लो विश्वकपमा जर्मनी र स्पेन जस्ता महारथीलाई हराएको थियो भने यसै वर्षको मार्चमा भएका मैत्रीपूर्ण खेलहरूमा स्कटल्याण्ड र इङ्ल्यान्डलाई पराजित गर्दै आफ्नो शक्ति प्रदर्शन गरिसकेको छ। अहिले अधिकांश जापानी खेलाडीहरू युरोपका शीर्ष लिगहरूमा खेलिरहेकाले उनीहरूमा आत्मविश्वास उच्च रहेको छ। जापानले आज राति नेदरल्यान्ड्ससँग खेलेपछि जुन २१ मा ट्युनिसिया र जुन २६ मा स्विडेनको सामना गर्नेछ।