समाचार विश्लेषण

काठमाडौंका ९ क्षेत्रमा एमाले हार्नुका ९ कारण

काठमाडौँ, ८ मंसिर । २०७४ सालको संघीय र प्रदेशसभाको निर्वाचनमा नेकपा (एमाले)ले बामगठबन्धन बनाएर चुनावी मैदानमा होमिएको थियो । त्यतिबेला काठमाडौँका १० मध्ये ६ वटा निर्वाचन क्षेत्रमा एमाले विजयी भएको थियो । त्यतिबेला एमालेले ७ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो भने गठबन्धनका तर्फबाट माओवादीले तीन क्षेत्रमा उम्मेदवार बनाएको थियो ।

एमालेले उम्मेदवारी दिएका ७ मध्ये ६ वटा निर्वाचन क्षेत्रमा एमाले विजयी हुँदा काठमाडौँ क्षेत्र नम्बर ४ मा भने कांग्रेस विजयी भएको थियो । एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका डाक्टर राजन भट्टराई पराजित हुनुभएको थियो । त्यतिबेला काठमाडौँ २ बाट एमालेका तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपाल २७ हजार ३ सय ६६ मतसहित विजयी हुँदा नेपाली कांग्रेसका दीपक कुँइकेल १४ हजार ९ सय ३ मतसहित दोस्रो हुनुभएको थियो ।

०७४ सालको संघीय र प्रदेशसभाको निर्वाचनमा नेकपा (एमाले)ले बामगठबन्धन बनाएर चुनावी मैदानमा होमिएको थियो । त्यतिबेला काठमाडौँका १० मध्ये ६ वटा निर्वाचन क्षेत्रमा एमाले विजयी भएको थियो

त्यसैगरी काठमाडौँ ३ मा कृष्ण राई १९ हजार १ सय ६९ मतसहित विजयी हुँदा त्यहाँ १४ हजार ८ सय ४८ मतसहित कांग्रेसकी अम्बिका बस्नेत दोस्रो हुनुभएको थियो । काठमाडौँ ५ मा एमालेका तत्कालिन महासचिव ईश्वर पोखरेलले २३ हजार २९ मत ल्याउँदा कांग्रेसका प्रकासशरण महतले १३ हजार १ सय ६९ मत मात्रै ल्याउनु भएको थियो ।

काठमाडौँ ७ मा एमालेका रामवीर मानन्धरले १८ हजार १ सय २ मतसहित विजयी हुँदा राप्रपाका विक्रमबहादुर थापाले १० हजार ७९ मत ल्याउनु भएको थियो ।
काठमाडौँ क्षेत्र नम्बर ८ मा एमालेकै जीवनराम श्रेष्ठले १३ हजार ३ सय ९७ ल्याउँदा कांग्रेसका नविन्द्रराज जोशी (उहाँ स्वर्गीय हुनुभएको छ) ले १२ हजार ९ सय ५३ ल्याउनु भएको थियो ।

काठमाडौँ ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठले २२ हजार ८ सय ५२ ल्याउँदा कांग्रेसका ध्यान गोविन्द रञ्जितले १४ हजार ८ सय २ मत ल्याउनु भएको थियो । एमालेले पहिला जितेका तीन वटा (२, ७ र ८) यो पटक नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले जित हात पारेको छ । यद्यपि यी तीन वटै क्षेत्रमा पहिला एमालेबाट विजयी भएका सांसदहरु फरक कित्तामा रहेका छन् । २ बाट विजयी नेपाल र ८ बाट विजयी श्रेष्ठ अहिले नेकपा समाजवादीमा हुनुहुन्छ भने ७ बाट विजयी रामविर मानन्धर पनि यो निर्वाचनमा स्वतन्त्र हैसियतमा घण्टाघर चुनाव चिन्ह लिएर मैदानमा हुनुहुन्थ्यो ।

यसरी ०७४ को निर्वाचनमा एमालेले काठमाडौँका १० मध्ये ६ निर्वाचन क्षेत्रमा विजयी हात पारेको थियो । तर, अहिले एमालेले एक सिटमा मात्रै अर्थात क्षेत्र नम्बर ९ बाट मात्रै विजयी हात पारेको छ । प्रदेशतर्फका २० क्षेत्र मध्ये एमालेले त्यतिबेला काठमाडौँ २ का दुबै निर्वाचन क्षेत्र, तीनको एउटा र चारको एक निर्वाचन क्षेत्रमा विजयी हात पारेको थियो । पाँचका दुबै निर्वाचन क्षेत्रमा एमाले विजयी भएको थियो भने ६ को पनि दुबै निर्वाचन क्षेत्रमा एमाले विजयी भएको थियो । त्यसैगरी ७ पनि दुबै निर्वाचन क्षेत्रमा एमाले विजयी भएको थियो भने ८ को पनि दुबै निर्वाचन क्षेत्रमा एमाले विजयी भएको थियो ।

९ को पनि दुबै निर्वाचन क्षेत्रबाट एमाले विजयी भएको थियो । त्यसैगरी १० मा एक जना निर्वाचित हुनुभएको थियो । यसरी हेर्दा ०७४ को निर्वाचनमा एमालेले प्रदेशतर्फ पनि १६ क्षेत्रमा विजयी हात पारेको थियो । तर, अहिले २० मध्ये केही क्षेत्रमा मात्रै विजयी हात पार्ने आँकलन छ । यसरी हेर्दा एमाले यो पटकको निर्वाचनमा काठमाडौँमा निकै कमजोर अवस्थामा देखिएको छ । एमालेले यो निर्वाचनमा केही ठाउँमा अकल्पनीय परिणामको सामना गर्नु परे पनि देशव्यापि रुपमा गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्दा पनि सकारात्मक माहोल सिर्जना गरेको छ । तर, काठमाडौँमा किन यस्तो कमजोर परिणाम प्राप्त भयो ।

बैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा समेत काठमाडौँमा एमालेले निकै नाजुक परिणाम प्राप्त गरेको थियो । काठमाडौँ महानगर स्वतन्त्रको हातमा पुग्यो भने ०७४ मा जितेका धेरै स्थानीय तह पनि एमालेले गुमाएको थियो । देशव्यापि रुपमा एमालेको सकारात्मक माहोल देखिँदा पनि काठमाडौँमा पछिल्लो समय एमाले किन निरन्तर कमजोर बन्यो त ? यसका केही कारण केलाउने प्रयास यहाँ गरिएको छ ।

बैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा समेत काठमाडौँमा एमालेले निकै नाजुक परिणाम प्राप्त गरेको थियो । काठमाडौँ महानगर स्वतन्त्रको हातमा पुग्यो भने ०७४ मा जितेका धेरै स्थानीय तह पनि एमालेले गुमाएको थियो । देशव्यापि रुपमा एमालेको सकारात्मक माहोल देखिँदा पनि काठमाडौँमा पछिल्लो समय एमाले किन निरन्तर कमजोर बन्यो त ? यसका केही कारण केलाउने प्रयास यहाँ गरिएको छ

कारण १
अन्तर्घातको रोग यथास्थितिमा रहनुः

०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकामा सानदार विजयी हात पारेको थियो । एमालेले तत्कालिन जिल्ला कमिटीका सचिव विद्यासुन्दर शाक्यलाई उम्मेदवार बनाएको थियो । उहाँको उम्मेदवारी घोषणासँगै एमालेले त्यतिबेलाका प्रभावशाली नेता शंकर पोखरेललाई चुनावी कमाण्डर तोकेको थियो । चुनावी कमाण्डर बन्नुभएका पोखरेले त्यतिबेला मिहीन ढंगले चुनावी रणनीति बनाउनु भएको थियो भने पार्टी कमिटी पनि सशक्त ढंगले परिचालित भएको थियो । मिडिया डेस्क नै सञ्चालन गरेर एमालेले त्यतिबेला चुनावी प्रचारको कामलाई तिव्र बनाएको थियो ।

त्यतिबेला अन्र्तरघातको सम्भावना समेत न्युन थियो र जिल्ला कमिटी पनि पूर्णरुपमा परिचालित भएको थियो र शाक्य भारीमतसहित विजयी हुनुभएको थियो । त्यसको केही महिनापछि अर्थात् मंसिरमै भएको संघ र प्रदेशको निर्वाचनमा पनि त्यहि ढंगको पार्टी परिचालन भएको थियो र एमालेले राम्रो नजिता प्राप्त गरेको थियो । तर, जब ०७९ को स्थानीय तहको निर्वाचन भयो ।

त्यतिबेला पार्टी अन्तर्घातले चरम रुप लियो अर्थात एमालेले त्यतिबेला पुरानो पुस्ता र युवा पुस्ताको प्रतिनिधित्व हुने गरी मेयरमा अनुभवी व्यक्ति केशव स्थापित र उपमेयरमा नयाँ पुस्ताले समेत रुचाएकी युवा सुनिता डंगोललाई अघि सारेको थियो । मेयर पदका लागि त्यतिबेला तत्कालिन मेयर विद्यासुन्दर शाक्यले पनि चाहना राख्नु भएको थियो । तर, उहाँले टिकट पाउनु भएन । ०७४ को निर्वाचनमा शाक्यले टिकट पाउँदा काँधमा बोकेर स्थापितले प्रचार गर्नुभएको थियो भने जिल्ला कमिटी पनि पूर्णरुपमा परिचालित भएको थियो । तर, ०७९ निर्वाचनमा भने ०७४ को जस्तो कमिटी परिचालन भएन । स्थापित मेयर हुँदाका वडाध्यक्ष रामविर मानन्धरले त खुलेरै स्थापितको विरोध गर्नुभयो ।

तर, ०७९ निर्वाचनमा भने ०७४ को जस्तो कमिटी परिचालन भएन । स्थापित मेयर हुँदाका वडाध्यक्ष रामविर मानन्धरले त खुलेरै स्थापितको विरोध गर्नुभयो 

स्थानीय तहको अन्तर्घातको रोग मंसिर ४ को निर्वाचनमा पनि दोहोरियो । कतिसम्म भने मानन्धर घण्टाघर चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बन्नुभयो । अन्य जिम्मेवार नेताहरु पनि जुन ढंगले संगठनको मत जोगाउन लाग्नु पर्ने हो त्यो अवस्था मंसिर ४ को निर्वाचनमा देखिएन ।

काठमाडौँ निर्वाचन क्षेत्र ९ (१) त्यसको एउटा उदाहरण हो । काठमाडौँ ९ बाट एमालेले विजयी हात पार्यो । तर, काठमाडौँ क्षेत्र नम्बर ९ (१) बाट एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका हरिकृष्ण डंगोलले ४५ सय ५२ मत मात्रै प्राप्त गर्दै पराजित हुनुभयो । उहाँ १ सय मतको अन्तरले पराजित हुनुभयो । यो क्षेत्रमा काठमाडौँ महानगरपालिकाका चार वटा वडा (१२, १४, २१ र २२) पर्छन् । यी वडाको मात्रै मत जोड्ने हो भने पनि ९ हजार हाराहारी आउनु पर्ने हो । तर, डंगोललाई त्यसको आधा पनि मत आउन सकेन । अन्तर्घातको यो एउटा उदाहरण मात्रै हो । अन्य निर्वाचन क्षेत्रमा पनि यस्ता अन्तर्घातका धेरै उदाहरणहरु छन् ।

कारण २
उम्मेदवार चयनमा कमजोरीः

काठमाडौँमा एमालेले यो पटक नराम्रो पराजयको सामना गर्नुको पछाडि उम्मेदवार चयन पनि अर्को कारण हो । यो पटकको निर्वाचनमा एमालेले १० वटा निर्वाचन क्षेत्र मध्ये पाँचमा वरिष्ठ उपाध्यक्ष अनि नौँ र चारमा स्थायी कमिटी सदस्यलाई उम्मेदवार बनाएको थियो । काठमाडौँको एकमा युवा संघका अध्यक्ष किरण पौडेललाई युवाको नेतृत्व गर्दै अघि बढाए पनि उहाँले उत्साहजनक परिणाम ल्याउन सक्नु भएन । क्षेत्र नम्बर १ मा स्वतन्त्रलगायतएत चर्चित अनुहार क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए । उनीहरुबिचमा भोट बाँडिएर पौडेलले जित्ने अनुमान एमालेले गरेको थियो । तर, त्यो सम्भव भएन ।

क्षेत्र नम्बर २ मा एमालेका पुराना नेतालाई उम्मेदवार बनाएको थियो । उहाँ एमालेको पुरानो नेता भए पनि अहिलेको माहोलमा भिज्न नसकेका कारण उहाँले पनि उत्साहजनक परिणाम प्राप्त गर्न सक्नु भएन । काठमाडौँ ६ मा एमालेले चर्चित अनुहार भनेर पूर्व प्रहरी प्रमुखलाई अघि सारे पनि संगठनमा हेलमेल नभएका सर्वेन्द खनालले पनि उत्साहजनक परिणाम ल्याउन सक्नु भएन ।

७ र १० मा एमालेले अघि सारेका उम्मेदवारले पनि अहिलेको माहोलसँग प्रतिस्पर्धा गर्न सक्नु भएन । कतिपय अनुहार स्थानीय मतदाताका विचमा अपरिचित हुनुका साथै मतदाताको अपेक्षालाई आत्मसाथ गर्न नसकेका कारण पनि एमालेले काठमाडौँमा नराम्रो पराजय भोग्न बाध्य हुनुहुपर्र्यो ।

७ र १० मा एमालेले अघि सारेका उम्मेदवारले पनि अहिलेको माहोलसँग प्रतिस्पर्धा गर्न सक्नु भएन । कतिपय अनुहार स्थानीय मतदाताका विचमा अपरिचित हुनुका साथै मतदाताको अपेक्षालाई आत्मसाथ गर्न नसकेका कारण पनि एमालेले काठमाडौँमा नराम्रो पराजय भोग्न बाध्य हुनुहुपर्र्यो

कारण ३
पदाधिकारीहरु आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित हुनुः

काठमाडौँका १० वटा निर्वाचन क्षेत्रमा स्थायी कमिटी सदस्य मात्रै ३ जना उम्मेदवार बन्नुभएको थियो भने जिल्ला कमिटीका अध्यक्ष र सचिव दुबै जना प्रदेश सांसदको उम्मेदवार हुनुहुन्थ्यो । क्षेत्र नम्बर ९ बाट उम्मेदवार बन्नु भएका स्थायी समिटी सदस्य कृष्णगोपाल श्रेष्ठ काठमाडौँको इञ्चार्ज हुनुहुन्छ । वरिष्ठ उपाध्यक्ष पोखरेल र स्थायी कमिटी सदस्य भट्टराई पनि उम्मेदवार भएपछि उहाँहरुले काठमाडौँको अन्य निर्वाचन क्षेत्रमा कुनै पनि ध्यान दिन सक्नु भएन । पोलिट्व्युरो सदस्य तथा काठमाडौँ जिल्ला कमिटीका सह–इञ्चार्ज राई काठमाडौँ क्षेत्र नम्बर ३ र सिलवाल काठमाडौँ क्षेत्र नम्बर ५ (१) बाट उम्मेदवार बन्नुभएको थियो ।

काठमाडौँ उपत्यका वा काठमाडौँ हेर्ने गरी निर्वाचनका लागि कुनै कमाण्डर एमालेले यो पटक तोकेन । जसका कारण सबै उम्मेदवार आ–आफ्नै व्यक्तिगत तरिकाले चुनावी माहोलमा अघि बढ्नुभयो । केन्द्रीय सदस्यहरु कृष्ण राई, रुपनारायण श्रेष्ठ, विद्यासुन्दर शाक्य, नारायण सिलवाल, सरिता प्रसाईँ एमालेका सह–इञ्चार्ज हुनुहुन्छ । उम्मेदवार बाहेका अन्य सहइञ्चार्जले समेत यो निर्वाचनमा पार्टीको तर्फबाट उल्लेख्य भूमिका खेल्न सक्नु भएन । हारको अर्को कारण त्यो पनि बन्यो ।

कारण ४
चुनावी रणनीति बनाउन नसक्नुः

०७४ को संघ–प्रदेश र स्थानीय तहको निर्वाचनमा एमालेले काठमाडौँलाई नै केन्द्रित गरेर व्यापक चुनावी रणनीति बनाएको थियो । ०७४ को संघ र प्रदेशको निर्वाचनमा एकातिर बाम तालमेलको माहोल बनेको थियो भने एमालेले पनि मिहीन ढंगले चुनावी रणनीति बनाएर अघि बढेको थियो । जसका कारण लोभलाग्दो सफलता प्राप्त गरेको थियो । यो पटक एमाले परम्परागत चुनावी शैलीबाट माथि उठ्न सकेन ।

विगतमा जस्तै उम्मेदवारसँगै मतदाताको घरदैलामा जाने, मतदाताको मनोभावना कस्तो छ भन्ने कुरातिर खासै ध्यान नदिने, मतदातालाई आकर्षित गर्ने ठोस योजना केही पनि नबनाउने, उम्मेदवारले दुबै हात जोडेर मतदातालाई नमस्कार गर्ने बाहेक भित्री चुनावी रणनीतिमा पनि खासै ध्यान दिन सकेन् । उम्मेदवार र पार्टीको निर्वाचन परिचालन कमिटीका नेता–कार्यकताले पनि चुनावी रणनीतिमा ध्यान नदिदाँ चुनावमा आफ्नो चुनावी प्रतिस्पर्धा कुन दलसँग भन्ने भेउसम्म पाउन सकेनन् । त्यति मात्रै होइन मतदाताको मनोविज्ञानलाई समेत बुझ्ने प्रयासमा ध्यान नदिनु हारको अर्को कारण बन्यो ।

उम्मेदवार र पार्टीको निर्वाचन परिचालन कमिटीका नेता–कार्यकताले पनि चुनावी रणनीतिमा ध्यान नदिदाँ चुनावमा आफ्नो चुनावी प्रतिस्पर्धा कुन दलसँग भन्ने भेउसम्म पाउन सकेनन् । त्यति मात्रै होइन मतदाताको मनोविज्ञानलाई समेत बुझ्ने प्रयासमा ध्यान नदिनु हारको अर्को कारण बन्यो

कारण ५
कार्यकर्ता परिचालनमा कमजोरीः

विगतका निर्वाचनमा काठमाडौँको चुनावी माहोल निकै व्यापक देखिन्थ्यो । काठमाडौँलाई नै केन्द्रित गरेर दिनहुँ भेला र चुनावी परिचालनका बैठकहरु हुन्थे । तर, यो पटक काठमाडौँको एमालेले त्यसमा खासै ध्यान दिएको देखिएन् । संख्या पुर्याउने नाममा कमिटीका बैठकहरु बाक्लै बसे पनि जनताको बिचमा जाने कार्यक्रम र योजना बनाउने कुरामा ध्यान दिएन । कार्यकर्ता परिचलन गर्ने सन्दर्भमा काठमाडौँको एमाले नराम्ररी चुक्यो । हारको अर्को कारण यो पनि बन्यो ।

कारण ६
जनवर्गीय संगठनलाई समन्वय र परिचालन गर्न नसक्नु

एमालेमा नेपाल बुद्धिजीवी परिषद्, नेपाल उद्योग व्यवसाय महासंघ, पेशागत महासंघ, नेपाल राष्ट्रिय युवासंघ, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), नेपाल राष्ट्रिय जनसाँस्कृतिक महासंघ, प्रेस चौतारी नेपाल, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल महिला संघ जस्ता २१ वटा जनवर्गीय संगठन छन् । तर, यो निर्वाचनमा कुनै पनि संगठन योजनाबद्ध रुपमा परिचालन हुन सकेनन् र काठमाडौँको नेतृत्वले त्यसतर्फ ध्यान पनि दिन सकेन ।

अझ गज्जब त के भने निर्वाचन परिचालन कमिटी र उम्मेदवार स्वयंले पनि हामीलाई सहयोग गर्ने जनवर्गीय संगठनसग समन्वय गर्नुपर्छ भन्ने हेक्का राखेनन् र ती जनवर्गीय संगठनलाई पूर्णरुपमा वेवास्था गरर्यो । कतिपय जनवर्गीय संगठनले त उम्मेदवारलाई चुनावी प्रचार र रणनीतिका लागि गरेको पटक–पटकको आग्रहलाई समेत प्रवाह नगरेको गुनासो गरेका छन् । काठमाडौँ हारको अर्को कारण यो पनि बन्यो ।

कारण ७
प्रचार–प्रसारमा कमजोरी

यो निर्वाचनमा काठमाडौँको एमाले प्रचार–प्रसारको मामिलामा पनि फितलो देखियो । उम्मेदवार स्वयं सामाजिक सञ्जालमा त्यति सक्रिय देखिएनन् भने योजनावद्ध रुपमा मिडिया डेस्क बनाएर प्रचार–प्रसारको कामलाई व्यवस्थित गर्ने कुरामा पनि एमाले कमजोर देखियो । अघिल्लो निर्वाचनमा प्रेस चौतारी नेपालले ‘एक उम्मेदवार एक पत्रकार’ अभियान चलाएको थियो भने युवा संघ, अखिल जस्ता जनवर्गीय संगठनले पनि ‘एक वुथ, एक युवा’ जस्ता अभियान चलाएका थिए ।

यो पटक काठमाडौँको चुनावी प्रचारमा त्यस्ता कुनै पनि अभियान सक्रिय भएको देखिएन् । पार्टी केन्द्रले बनाएको ‘एक बुथ, सय युथ’ कार्यक्रमलाई कार्यन्वयन गर्ने कुरामा समेत काठमाडौँको नेतृत्व चुक्यो । अहिलेको सूचना–प्रविधिको युगसँग घुलमिल हुने कुरामा पनि उम्मेदवारहरु निकै कमजोर देखिए । मिडिया परिचालनमा पनि निकै फितलो प्रस्तुति देखियो भने मतदातालाई आकर्षित गर्ने खालका भिडियो, डकुमेन्ट्री जस्ता सामग्री उत्पादन फितलो भयो ।

अहिलेको सूचना–प्रविधिको युगसँग घुलमिल हुने कुरामा पनि उम्मेदवारहरु निकै कमजोर देखिए । मिडिया परिचालनमा पनि निकै फितलो प्रस्तुति देखियो भने मतदातालाई आकर्षित गर्ने खालका भिडियो, डकुमेन्ट्री जस्ता सामग्री उत्पादन फितलो भयो

अझ गज्जब त के भने काठमाडौँका अधिकांश उम्मेदवारले आफुले मतदातासँग मत माग्दै गरेका तस्बिर र भिडियोलाई फेसबुकमा पोष्ट गर्नुलाई नै ‘सोसल मिडिया क्याम्पेन’ सम्झियो, अन्य ‘डिजिटल मार्केटिङ रणनीति’ मा ध्यान दिएन । एमालेले विगतमा गरेको कामको प्रचार गर्ने कुरामा पनि काठमाडौँ एमाले नराम्ररी चुक्यो । हारको अर्को कारण यो पनि बन्यो ।

कारण ८
पार्टी दायित्व र जिम्मेवारी पूरा गर्न नसक्नुः

कुनै समय दालमोठ र चिउरा मात्रै खाएर पनि एमाले कार्यकर्ता चुनावी प्रचारमा खट्थे । कार्यकर्तामा पनि पार्टी र नेताप्रति अथाह आस्था र भरोस हुन्थ्यो । पछिल्लो सयम कार्यकर्तामा त्यो खालको उत्साह हराउँदै गएको छ । त्यो रोग काठमाडौँका नेता–कार्यकर्तामा पनि देखियो । चुनावी प्रचार–प्रसार गर्ने, रणनीति बनाउने र उम्मेदवारलाई जसरी पनि जिताउने योजनामा भन्दा पनि बाहिर–बाहिर खटे जस्तो गर्ने, उम्मेदवारलाई अनावश्यक खर्चका लागि दबाब दिने जस्ता कुराहरु यो निर्वाचनमा बढी हावी भए । काठमाडौँ पनि त्यसबाट टाढा रहन सकेन । कार्यकर्ता भएपछि कार्यकर्ताले कर्तव्य र जिम्मेवारीलाई पूर्णरुपमा पालना गर्ने कुरामा पनि ठूलो कमजोरी देखियो । पार्टीले दिएको जिम्मेवारीलाई समेत भुलेर तत्काल आफूलाई बेफाइदा हुने अवस्थामा उम्मेदवारलाई नै भित्रिरुपमा असहयोग गर्ने डरलाग्दो संस्कार विस्तारै हावी हुँदै गएका बेला काठमाडौँमा पनि त्यो संस्कार टड्कारो रुपमा देखियो । निर्वाचन हार्नुको अर्को कारण त्यो पनि बन्यो ।

पार्टीले दिएको जिम्मेवारीलाई समेत भुलेर तत्काल आफूलाई बेफाइदा हुने अवस्थामा उम्मेदवारलाई नै भित्रिरुपमा असहयोग गर्ने डरलाग्दो संस्कार विस्तारै हावी हुँदै गएका बेला काठमाडौँमा पनि त्यो संस्कार टड्कारो रुपमा देखियो । निर्वाचन हार्नुको अर्को कारण त्यो पनि बन्यो

कारण ९
विपक्षीको रणनीतिलाई बुझ्न नसक्नुः

०७४ को निर्वाचनमा एमालेले काठमाडौँका ६ वटा निर्वाचन क्षेत्रमा विजयी हात पारेको थियो भने काठमाडौँका २० मध्ये १६ वटा प्रदेशसभामा एमालेले जित निकालेको थियो । तर, यो पटक केन्द्रमा एक र प्रदेशमा पनि निकै कम क्षेत्रमा मात्रै जित निकाल्न सफल भयो । विपक्षीको रणनीतिलाई बुझ्न नसक्नु यस्को प्रमुख कारण हो । भर्खरै स्थापना भएको स्वतन्त्र पार्टीले काठमाडौँका चार वटा निर्वाचन क्षेत्रबाट जित निकाल्न सफल भयो । पाँच वटा निर्वाचन क्षेत्रमा कांग्रेसले विजयी हात पार्यो भने गठबन्धनका तर्फबाट समाजवादी र माओवादीका भागमा परेका चार वटै निर्वाचन क्षेत्रबाट स्वतन्त्र पार्टी विजयी भयो ।

ती क्षेत्रमा स्वतन्त्र पार्टीको बलियो उपस्थिति देखिनुको प्रमुख कारण कांग्रेसले ती क्षेत्रमा गठबन्धनलाई छाडेर घण्टीतिर मत दिएको तथ्यहरु बहिर आएका छन् । तर, एमालेले यो रणनीतिलाई राम्ररी केलाउन सकेन । कांग्रेसले रणनीतिक रुपमा स्वतन्त्र पार्टीलाई आफ्नो भ्रातृ पार्टीलाई जस्तै सहयोग गरेको आरोप लागेको छ । यो तथ्यलाई समेत एमालेले चुनाव अघि पत्याएन र त्यसफर्तको योजना नै बनाएनन् । भर्खरै खुलेको पार्टीको त्यो माहोल निकै ठूलो शक्तिको आड–भरोसाले अघि बढेको छ भन्ने कुराको हेक्का काठमाडौँको एमालेले गर्न सकेन् र केन्द्रमा पनि त्यो खालको रिपोर्टिङ गर्ने हैसियत राखेन । काठमाडौँमा बामपन्थीहरुलाई कमजोर बनाउन एससीसी पक्षधरहरुको मिलेमतो रहेको समेत अनुमान गर्ने आधार भेट्न सकिन्छ । र, त्यसमा अमेरिका र युरोपियन युनियनको समेत चासो रहेको हुनसक्ने अनुमानलाई थप बल पुग्ने काम स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अन्तिम समयमा काठमाडौँ ४ बाट स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेका व्यक्तिलाई निकालेर गगन थापालाई सहयोग गर्नुले पनि थप पुष्टि गरेको देखिन्छ । गगन एमसीसीका पक्षमा खुलेर लागेका व्यक्ति हुनुहुन्छ । ‘नो नट अगेन’ अभियान नै चलाएर युवा मतदातामा भ्रम छर्ने, कतिपय ठाँउमा युवालाई आर्थिक प्रलोभवन देखाउने जस्ता काम भए । त्यो भेउ थाहा नपाउनु पनि काठमाडौँमा एमाले हारको प्रमुख कारण बन्यो ।

‘नो नट अगेन’ अभियान नै चलाएर युवा मतदातामा भ्रम छर्ने, कतिपय ठाँउमा युवालाई आर्थिक प्रलोभवन देखाउने जस्ता काम भए । त्यो भेउ थाहा नपाउनु पनि काठमाडौँमा एमाले हारको प्रमुख कारण बन्यो

अझ तितो यथार्थ त के–छ भने तल्लो तहका कांग्रेस कार्यकर्तालाई समेत घण्टीमा मत हाल्न हीप जारी गरेको केही उदाहरण समेत देखिएका छन् । त्यसको बलियो आधार काठमाडौँ क्षेत्र नम्बर २, ६, ७, ८ र ९ हो । अझ गज्जब त के छ भने संघमा घण्टी र प्रदेशमा हलो लाई मत अध्याधिक मत परेको छ । प्रदेशमा काठमाडौँका केही विर्नाचन क्षेत्रमा राप्रपा विजयी भएको छ । यो तथ्यलाई समेत एमालेले भेउ पाउन सकेन । २, ७, र ९ मा माओवादीबाट उम्मेदवार हुनुहुन्थ्यो भने ८ मा समाजवादीबाट । क्षेत्र नम्बर ९ मा कहिल्यै नाम नसुनिएका स्वतन्त्र पार्टीका उम्मेदवारले एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठको हाराहारीमा मत ल्याउनुले त्यसको थप पुष्टी गर्छ । तर, त्यस्ता कुराको भेउ एमालेले थाहा नपाउन सकेन । काठमाडौँका कतिपय निर्वाचन क्षेत्रमा विपक्षीले एमाले भित्र खेल्दै वागी उम्मेदवार उठाउने रणनीति बनायो । तर, एमालेले ती वागी उम्मेदवारलाई सम्झाउने र एमालेको पक्षमा माहोल सिर्जना गर्नेतर्फ ध्यान दिएन वा आवश्यक ठानेन । एमाले हारको अर्को कारण यो पनि बन्यो ।

काठमाडौँको एमाले यसरी कमजोर अवस्थामा पुग्नुमा काठमाडौँ जिल्ला र महानगरपालिका कमिटी पनि जिम्मेवार देखिन्छ । यस्तो अवस्थामा नेतृत्वले राजीनामा दिनुपर्ने वा कमिटीहरु पुर्नगठन गर्नुपर्नेसम्मका चर्चा चल्न थालेका छन् । यो विषयमा नेतृत्वले नैतिकता देखाउला वा नदेखाउला यो भने हेर्न बाँकी नै छ ।