ब्राजिल र क्रोएसिया क्वार्टरफाइनल प्रवेश, जापान र कोरिया स्तब्ध

काठमाडौं, २० मंसिर । दक्षिण कोरियालाई ४–१ गोलले पराजित गर्दै ब्राजिल र जापानलाई पेनाल्टी सुट आउटमा हराउँदै क्रोएसिया कतारमा जारी फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

अन्तिम १६ अन्तर्गतको खेलमा दक्षिण कोरियालाई हराउन भिनिसियस जुनियर, नेइमार, रिचार्लिसन र लुकास पाकेटाले गोल गरेका थिए । यता जापान र क्रोएसिया निर्धारित र अतिरिक्त समय १–१ गोलको बराबरीमा थिए । पेनाल्टी सुट आउटमा ३–१ गोलको नतिजमा निकाल्दै क्रोएसिया क्वार्टरफाइनल पुगेको हो ।

दक्षिण कोरिया र ब्राजिलखेलको खेलमा सातौं मिनेटमा भिनिसियसले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेट नबित्दै नेइमारको गोलमा ब्राजिलले अग्रता दोब्बर पारे भने दक्षिण कोरियाका मिडफिल्डर यु योङ जुङले १८ यार्ड बक्सभित्र रिचार्लिसनलाई फाउल गरेपछि ब्राजिलले पेनाल्टी पाएको थियो । सोहि पेनाल्टीलाई सदुपयोग गर्दै नेइमारले ब्राजिलको अग्रता दोब्बर पारेका हुन् ।

२९औं मिनेटमा थिएगो सिल्भाको पासमा रिचार्लिसनले गोल गर्दै अग्रता ३–० बनाए र त्यसको सात मिनेट नबित्दै लुकास पाकेटाले ब्राजिलका लागि चौथोे गोल गरे । दक्षिण कोरियाका पेइक सिउङ होले ७६औं मिनेटमा एक गोल फर्काए । खेल ब्राजिलले र मन कोरियाले जित्यो ।